समानुपातिक तर्फको मतगणना आज सकिदै

समानुपातिक तर्फको मतगणना आज सकिदै

काठमाडौं । गत मङ्सिर ४ मा भएको निर्वाचन अन्तर्गत आजसम्म समानुपातिकतर्फको मत गणना सकिने निर्वाचन आयोगले जनाएको छ । मङ्सिर १५ गते पुनः मतदान भएको दोलखा र बाजुरामा बेलाबेला मतगणना स्थगित भएका कारण अन्तिम नतिजा आउँन केही ढिलाइ भए पनि प्रत्यक्षतर्फको सम्पूर्ण गणना सकिएको छ । आयोगका अनुसार प्रतिनिधि सभाको समानुपातिकतर्फ नेकपा एमालेले सबैभन्दा धेरै २८ लाख १० हजार ४ सय ४१ मत ल्याएको छ । दोस्रोमा रहेको नेपाली काँग्रेसले २६ लाख ८४ हजार ६ सय ५७ पाउँदा नेकपा माओवादी केन्द्रले ११ लाख ६३ हजार ७ सय ६०, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ६ सय ७० मत प्राप्त गरेको छ ।

आजसम्म मतगणना सकाएर बाँकी प्रक्रिया सुरु गर्ने तयारी रहेको आयोगले जनाएको छ । काँग्रेसले प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ ५७ सिट प्राप्त गरेको छ भने एमालेले ४४ सिट जितेको छ । यस्तै माओवादी केन्द्रले १८ सिट जित्दा एकीकृत समाजवादी १० सिटमा सीमित भएको छ । जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीले ७–७ सिट जितेका छन् भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले ४ सिट मात्रै जितेको छ । नागरिक उन्मुक्ति पार्टीले ३ तथा राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र जनमत पार्टीले १–१ सिट जितेका छन् । ५ जना स्वतन्त्र उम्मेद्वार पनि प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । प्रदेश सभातर्फ काँग्रेस १ सय ११, एमाले ९१, माओवादी केन्द्र ५३, नेकपा एस १५, जसपा १०, राप्रपा ११, लोसपा ९, जनमत पार्टी ७, नागरिक उन्मुक्ति पार्टी ५ तथा नेमकिपा र हाम्रो पार्टी नेपाल १–१ क्षेत्रमा निर्वाचित हुँदा १२ जना स्वतन्त्र उम्मेदवारहरूले जितेका छन् ।