जनकपुरधाम, २८ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरमा नागरिक अभिनन्दन गरिएको छ । अाज जनकपुर उपमहानगरपालिकाले मोदीलाई नागरिक अभिनन्दन गरेको हो ।
जानकी मन्दिरमा विशेष पूजा गरेपछि रंगभूमि पुगेका भारतीय प्रधानमन्त्री मोदीको नागरिक अभिनन्दन गरिएको हो । भारतीय प्रधानमन्त्री मोदीले आज जनकपुरधामस्थित जानकी मन्दिरमा षोडशोपचार विधिबाट विशेष पूजाअर्चना गर्नुभयो ।
मन्त्रको प्रधानता रहेको सो पूजा जानकी मन्दिरमा आउने विशिष्ट अतिथिलाई मात्र गराइने परम्परा छ । जानकी मन्दिरमा सो विधिबाट पूजा गर्ने भारतका प्रधानमन्त्रीका रूपमा मोदी पहिलो प्रधानमन्त्री हुनुहुन्छ ।
जानकी मन्दिरमा पूजाअर्चनाका लागि आउँदा भारतीय प्रधानमन्त्री मोदीलाई जानकी मन्दिरमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्नुभएको थियो ।
भारतीय प्रधानमन्त्री मोदी मन्दिर परिसरमा रहेको शालिग्राम मन्दिरमा पूजाअर्चना र अखण्ड सीताराम भजनमा स्तुति गर्नुभएको थियो । भारतीय प्रधानमन्त्री मोदीलाई जानकी मन्दिरमा महन्त रामतपेश्वर दास र सहायक महन्त रामरोशन दासले मैथिल संंस्कृतिअनुसार स्वागत गर्नुभएको थियो ।