लैंगिक हिंसालाई एउटा लिंगले अर्को लिंगमाथि गरिने बल प्रयोग वा दमनमात्र भन्दा माथि उठेर बुझ्नु पर्छ । हिंसाको लिंग हुँदैन । हिंसाले तर्कका परिधिहरूलाई मान्दैन । त्यसैले त्यो हिंसा हुन्छ । संरचनामा हुने शक्ति सन्तुलनका आधारहरू कुनै पनि तर्किक नियमलाई मान्दैनन् र दमनका आधारमा आफ्नो सत्ता स्थापित गर्न र अहंकारको सन्तुष्टिका लागि प्रयत्नशील रहन्छन् । अहंकार प्रेरित व्यक्तिको लिंगको पहिचान गरेर बस्नु आफैँमाथि चिन्तनका सीमा लाद्नु हो ।
एक दिन मलाई महाजराजगन्जबाट विश्वविद्यालयमा पढाउन कीर्तिपुर जानुपर्ने थियो । त्यहाँबाट सुन्धारा आउने माइक्रो बस चढेँ । सानो, निलो माइक्रोमा पछाडिको लामो सिटमा एकजना युवती, तिनका नजिकको आफन्त र दुई बहिनी तामाङ्ग किशोरीहरू खचाखच भएर भरिएका थिए । त्यसभन्दा अगाडिको सिटमा झ्यालतिर एक जना अर्धबैँसे महिला र एउटा करिब तीस वर्षका युवक थिए । मचाहिँ ढोका छेउको बेन्चजस्तो सिटमा बसेँ । अगाडि भएका मानिसलाई मैले त्यसरी विस्तारमा हेरिन ।
माइक्रो बस लाजिम्पाट पुग्दा नै मैले उक्त युवकले ती महिलालाई आफ्नो दाइने कुइनाले ठेलेको देखेको थिएँ । उनलाई अप्ठेरो भइरहेको थियो । उनले युवकको त्यस कार्यको प्रतिवाद गरिन् । सबै मानिस मौन थिए । म पनि मौन नै थिएँ । मलाई थाह छ, अरूको मामलामा त्यसै बाधा हाल्नु वा बीचमा बोल्न जानु हुँदैन । ती महिलाले भनिन् – ”मैले तपार्इँलाई कति भनिसकेँ, तर पनि तपाईं मान्नु हुन्न । त्यो हात सिधा पारेर राख्नुस् । अलिक अगाडि म तीन जना छौँ भनेर चुप बसेँ ।” त्यसपछि त्यसलाई उत्तर दिने पालो अब ती जवानको थियो । तिनले भने – ”त्यस्तो सुविधा चाहिनेले ट्याक्सी चढेर जानु नि ।” मलाई अत्यन्त रिस उठ्यो र मैले हस्तक्षेप गरेँ – ”ट्याक्सी, कार वा हेलिकप्टर केमा यात्रा गर्ने हो ती दिदीले जान्नुहुन्छ । उहाँले निर्णय गर्ने कुरा हो त्यो । तपाईं र मजस्तै ती दिदीले पनि सार्वजनिक सवारीमा यात्रा गर्नका लागि आउनु भएको छ । तपाईं आफ्नो हात सिधा गर्नुस् ।” त्यसपछि सबै मानिसले मेरो मुखतिर हेरे र पछाडिको सिटमा बस्ने युवतीले सोधिन् ”तपाईं के काम गर्नु हुन्छ?” मैले भनेँ ” “म शिक्षक हुँ ।” ती सुहाएको रातो सर्टमा सजिएकी युवतीले मलाई आँखैले हाँसेर धन्यवाद भनिन् ।
ad
तर, यताको विवाद सकिएको थिएन । त्यो युवकले जवरजस्ती गरी नै रहेको थियो । ती महिलाले थपिन् ”मेरो पाखुरामा घाउ छ । तपाईं मजस्तो प्रौढको अनुरोध भनेर हात सिधा गरेर किन बस्नु हुन्न? तपाईंसँग विवाद नै गर्ने भए मैले यो महिला आरक्षण सिटमा किन बस्नुभएको भनेर अगाडि नै भनिसक्ने थिएँ । तर मैले त्यसो त भनिसकेकी छैन नि ।” मैले अघि यो कुराको ख्यालै गरेको रहेनछु । त्यो सिट महिलाका लागि आरक्षित सिट नै थियो । ती युवक आफ्नो कुरालाई स्थापित गर्ने र आफूलाई चोख्याउने पक्षमा उभिए । उनले भने – ”हो, हातमा घाउ छ भन्नु पर्थ्यो नि !” मैले रिस नियन्त्रण गर्न सकिन । उनको शरीर उसले जसरी पनि प्रयोग गर्न पाउनुपर्छ भनिरहेको थियो । हो, मेरो दिमागमा यही आइरहेको थियो । मैले प्रतिवाद गरेँ – ”उनको हातमा घाउ हुनु र नहुनुको कुरा होइन यो । घाउ नभए पनि तपाईंले छुन पाउनु हुन्न । उहाँलाई अप्ठेरो लाग्छ भन्ने तपाईंले उहाँको अनुहारमा पनि हेर्न मिल्दैन, बुझ्नु भयो । तपाईंले धेरै किचकिच गरिसक्नु भयो । तपाईंले उहाँलाई सुविधापूर्वक बस्न दिनुहुन्न भने गाडी रोकेर तपाईंलाई यहाँबाट निकालिनेछ । बुझ्नु भयो?” यती बेरसम्म माइक्रो बस नागपोखरीबाट दरबारमार्गतर्फ हुँकिसकेको थियो । पछाडिको सिटमा बसेका युवतीहरूलाई पनि ती युवकको विपक्षमा बोल्ने प्रेरणा मिलिसकेको थियो । तिनीहरू पनि हाम्रो पक्षमा बहस गर्न उत्रिए । अरू दुई जना नानीहरू पनि हामीसँगै स्वर मिलाउन थाले । त्यती बेलासम्म हामी दरबार मार्गमा आइसकेका थियौँ ।
विवाद भएको कारण मलाई ती व्यक्तिको छेउमा बस्न असहज भइरहेको थियो । त्यसमा पनि म अलि असजिलो सिटमा नै परेको थिएँ । त्यहाँ केही सिट खाली भए । ती अपांगका लागि सुरक्षित गरिएका सिट थिए । चालकले मलाई ती सिटमा बस्न अनुरोध गर्दा मैले त्यहाँ म बस्न त हुन्छ नि भनेर प्रश्न गरेँ । उनले ”केही हुँदैन, मैले भनेपछि बस्नुस् ” भने । म अगाडि गएर बसेँ । ती महिलालाई अप्ठेरो गराउने मानिसलाई मैले साधारण रूपमा लिएको थिएँ । वास्तवमा भन्ने हो भने मैले तिनलाई बिर्सि सकेको थिएँ । म मेरो सुरमा कीर्तिपुर जान सुन्धारामा माइक्रो बसबाट उत्रिएँ र अगाडि सहिद गेटको माइक्रो बस स्टेसन तर्फ लागेँ ।
बीचमा मेरा आफन्तको मिठाई पसल हुनाले पसलभित्र पसेँ तर मैले आफन्त त्यहाँ नभएको खबर पाएपछि बाटो काट्न आकाशे पुल चढेँ । आकाशे पुलबाट देखिने जंगी अड्डाको कम्पाउन्ड र त्यहाँ आफूले सैनिक संस्थामा काम गर्दाको समयमा बिताएका क्षणको यादले मलाई अलि भावुक बनाएको थियो । अलिअलि रमाइलो पनि लागेको थियो । पुलको माथिल्लो सतहको बीच भागबाट म जंगीअड्डाको चौरमा भएका गतिविधितर्फ नजर लगाउँदै थिएँ । हरियो चौर र केही मानिस आवतजावत गरिरहेको दृश्य मलाई अत्यन्त प्रिय लागिरहेको थियो । केही क्षण त्यहीँ रोकिएर हेर्ने कि अगाडि बढ्ने भन्ने दुबिधा मनमा थियो ।
सधैँ बाइकमा हिड्ने मानिसलाई एक दुई दिन पैदल हिँड्दा पनि रमाइलो नै हुन्छ नि । हो, यस्तै भएको थियो । रमाइलो धेरै भएको थियो । ससाना कुरामा ध्यानमग्न रहन पाइन्छ एक्लै हिँड्दा । ती ससाना कुराहरूको सौन्दर्यको सुवासले मुग्ध हुन रमाउने मेरालागि अत्यन्त प्रिय क्षण थियो त्यो समय । आफैँमा हराएर उभिइरहेको त्यस क्षणमा एउटा मुक्का मेरो अनुहारमा प्रहार भयो –– दाहिने आँखामा । मेरो चस्मा खस्यो । म चस्मा खोज्न पुलको भूईंतिर आँखा डुलाउन लागेँ । त्यहाँ रहेका खुद्रा व्यापारी, माग्ने र पदयात्रु जम्मा भए । मैले चस्मा भेट्टाइन । कसैले चस्मा तल कालोपत्रे सडकमा खसिसक्यो भनेर जानकारी दियो । त्यसपश्चात मैले मुक्के युवक तर्फ हेरेँ । त्यो कालो ब्याग बोकेको युवक भागिरहेको थियो । मानिसहरूले ”चोर, चोर” भनेर कराइरहेका थिए । तर कसैले पनि त्यसलाई समातेनन् । मैले भनेँ, ”त्यो चोर होइन ।”
मानिसहरू मेरो प्रतिक्रिया सुनेर अलमल गरिरहेका थिए । मलाई उनीहरूले सोधे, ”तपाईं त्यसलाई चिन्नुहुन्छ?” भने ”म त्यसलाई चिन्दिन ।” रगत बग्न सुरू गरिसकेको थियो । मैले मेरो सर्टमा रगतका केही थोपाहरू परेको देखेँ । हातले छामे, चोट ठूलै लागे जस्तो भयो । म पुलबाट त्यो युवक गएको दिशातर्फ नै गएँ । मेरा आफन्तको पसलमा पानी मागेँ । मुख धोएँ । केही न्यापकिन पेपरले मेरो रगत पुछेँ । यहीबीचमा मेरा मित्र त्यहाँ आइसकेका रहेछन् । उनले मलाई त्रिपुरेश्र्वरस्थित आँखा अस्पतालमा लगेँ । त्यहाँ मेरो आँखा परीक्षण भयो । दाहिने आँखाको दाहिने कुनाको माथि पट्टि दुईवटा चोटमा एउटामा तीन र अर्कोमा दुई गरी जम्मा जम्मी पाँच टाँका लगाइयो ।
मैले आँखा परीक्षण पश्चात चस्मा बनाएँ । नयाँ चस्मा लगाउँदा नयाँ विचार आइरहेको थियो । वास्तवमा त्यो मानिस चोर होइन । हुन त ससानो कुराले पनि धेरै दिनसम्म खिन्न बनाउने मलाई त्यो मुक्का खाएर कुनै प्रकारको दुखाइ भने अनुभव भइरहेको थिएन । मनमा एउटा सुस्पष्ट सन्देश तैरिरहेको थियो । मलाई त्यो मुक्केले एउटा कुरा भनिरहेको थियो ः यो समाजले जे भने पनि, जतिसुकै विधिविधानले नियमनका चेष्टा गरे पनि मैले यस देशका महिलाहरूलाई आफूले चाहेको समय, चाहेको स्थानमा, आफूले चाहे जसरी भोग गर्न पाउनु पर्छ । कसैले त्यसको विरूद्धमा आवाज उठाउँछ भने मैले त्यसलाई यसै गरी मुक्का हान्छु –– त्यो व्यक्ति जुनसुकै तहको हास्, तप्काको होस् वा वर्गको होस् ।
चुनौतीको सामना गर्नुपर्ने पक्षका रूपमा उसले केही प्रश्न पनि खडा गरेको छ । हाम्रा सार्वजनिक सवारी साधन कति सुरक्षित छन् ? हामीले सभ्य समाजको नारा दिइरहँदा हाम्रा स्त्रीहरूमाथि कुन प्रकारको व्यवहार भइरहेको छ? स्त्रीको लैंगिक आवाजलाई बल, ऊर्जा दिने कार्य गर्नु नै पनि व्यक्तिगत स्तरमा निन्दनीय, दण्डदीय मान्ने समाजमा लिंगको खोल बोकेर हिँड्नु पर्ने जैविक बाध्यतामा परेका मानिसलाई यो समाजले कस्तो व्यवहार गर्छ ? म ब्राह्मण परिवारमा जन्मिएको विश्वविद्यालयमा अध्यापन गर्ने पुरूष नै यस्तो मुद्दा उठान गर्दा र समाजमा आइपर्ने यस्ता मुद्दाको बहसको तहमा खुलेर उभिँदा सिंहदरवारको दुई किलोमिटरको हवाइदूरीको क्षेत्रमा सुरक्षित रहिन भने यस देशमा बसोबास गर्ने कुन महिला लैंगिक हिंसाको सिकार हुनबाट बच्न सक्छिन् ? यो प्रश्न नै यस घटनाको केन्द्रीय विषय हो । हामीले यसमा ध्यान दिनु जरूरी ठान्छु । मैले महानगरीय प्रहरी वृत्त, जनसेवामा यसको उजुरी दर्ता गरेको छु । लैंगिक हिंसाप्रतिको सरकारी संवेदनशीलता यसबाट पनि देखिने नै छ भन्ने मैले आशा गरेको छु ।
यस देशको नागरिकको हैसियतले सार्वजनिक सवारी साधनमा हाम्रा छोरीचेलीहरूको सुरक्षा प्रधान प्रश्न भएजस्तै हाम्रा नवयुवामा स्त्री शरीरप्रतिको अवधारणमा परिवर्तन ल्याउनुपर्ने आवश्यकता पनि उत्तिकै छ । कुनै पनि मानिसले आफ्नो स्वाभिमानको रक्षासहित स्वविवेकले आफ्नो आनन्दका लागि आफ्नो शरीरको उपयोग गर्ने हो । कसैको सहमतिबिना कसैको शरीरमा हेर्नु पनि हुँदैन । सहमति खोज्ने निर्दिष्ट तार्किक तरिकाका बारेमा हामीले हाम्रा युवालाई समयमा नै सुशिक्षित गर्न सकेनौँ भने हाम्रो गणराज्यको कल्पनामा ठूलो आघात पर्नेतर्फ हामी समयमा नै सचेत हुनुपर्छ । सबैभन्दा ठूलो समस्या हाम्रो प्रवृत्ति र सोचमा देख्छु ।
हामीले आफूलाई संसारसँग र संसारलाई हामीसँग कुन सम्बन्धका आधारमा खडा गर्छौँ, त्यसले हाम्रो र संसारको अर्थ निर्माण हुन्छ । आफूइतरको अस्तित्वलाई सम्मान गर्ने भाव मस्तिष्कमा आएन भने मानिसले आफूभन्दा बाहिरी दुनियाँ जड देख्न पुग्छ । ती युवकका लागि माइक्रो बसभित्र ती महिला जड तत्त्व थिइन् । किनभने तिनी स्त्री हुन् । उसले उनको शरीरलाई प्रयोग गरेर आनन्द प्राप्ति गर्न पाउनु आफ्नो अधिकार सम्झेको थियो । ती महिलाले उसको प्रतिवाद गरिन । म उनको पक्षमा उभिएँ । मसँगै बसका सबै यात्रु ती युवकको विपक्षमा उभिए । मलाई उसले आफ्नो आनन्दको मार्गमा व्यवधान खडा गर्ने तत्त्वका रूपमा बुझ्यो । प्रकारान्तरले म ती महिलाको अस्मिताको विस्तृत प्रसारक भएँ । उसले ती महिलामाथि प्रहार गर्न चाहेको थियो तर मलाई मुक्का हान्यो ।
त्यस्तै यस घटनाको विविध पाटाहरूमध्ये सबैभन्दा रोचक पक्ष भनेको लैंगिक हिंसाको स्वरूप हो । हामीले परम्परागत रूपमा लैंगिक हिंसालाई एउटा लिंगले अर्को लिंगमाथि शक्तिको असन्तुलनका कारणले गर्ने गैरतार्किक बलका रूपमा बुझेका छौँ । अझै स्पष्ट रूपमा भन्नुपर्दा एउटा लिंगको व्यक्तिले आफ्नो सुखभोगका लागि अर्को लिंगमाथि प्रयोग हुने शक्तिलाई हामीले लैंगिक हिंसाको मानकका रूपमा लिएका छौँ । तर यहाँ त मुक्केले उसकै लिंगको व्यक्तिमाथि प्रहार गरेको छ । संरचनागत दृष्ट्रिले म लैंगिक हिंसाको सिकार भएको थिएँ । र पीडक पनि मेरै लिंगको मानिस हो । त्यस अवस्थितिबाट घटनालाई हेर्ने हो भने लैंगिक हिंसाको अझ फराकिलो दार्शनिक आयामको दर्शन हुन्छ ।
लैंगिक हिंसाको सिकार स्त्रीहरूमात्र हुँदैनन् । पुरूषहरू पनि पुरूषकै हातबाट लैंगिक सबालमा पीडित हुन्छन् । लैंगिक असमानताको आधारबाट सृजित समस्याका लागि ती असमानताका आधारमा नै पुगेर लैंगिक नियमहरूमा पुनर्लेखन, संशोधन वा प्रतिस्थापनमध्ये कुनै एक वा सवै विधि अवलम्बन गरिनुपर्छ । समाजको मानसिकतामा जकडिएर रहेका यी नियमहरूलाई पूर्णरूपमा न्यायको पक्षमा ल्याएर मात्र एउटा ठोस निष्कर्षसहितको समाजतर्फ हामी अगाडि बढ्न सक्छौँ ।