सहरी विकास मन्त्री चौधरीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

सहरी विकास मन्त्री चौधरीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं, ३० असोज।आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले सहरी विकास मन्त्री मेटमणी चौधरीलाई स्पष्टीकरण सोधेको छ । आयोगले आइतबार उनलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

मन्त्री चौधरीले बाढीपीडितका नाममा चामल वितरण गरेको समाचार आएपछि आयोगले स्पष्टीकरण सोधेको हो । आयोगले उनीसँग निर्वाचन क्षेत्रका बाढीपीडितका नाममा चामल वितरण गर्ने कार्यले आचारसंहिताको उल्लंघन हुँदैन भनेर पुष्ट्याइ गर्ने आधार के छ भनेर प्रश्न सोधेको छ ।

आचारसंहिताको दफा छ मा आयोगको पूर्व स्वीकृति लिएर त्यस्ता कार्यक्रम सञ्चालन गर्न बाधा पर्ने छैन भन्ने व्यवस्था छ । त्यस व्यवस्था बमोजिम आयोगको कुनै पूर्वसहमति प्राप्त गरेको छ/छैन ? भनेर पनि प्रश्न गरिएको छ ।सहमति बेगर चामल वितरण गरिएको भए सरकारको वार्षिक कार्यक्रम भित्र कुन बुँदामा समावेश भएको छ ? भन्ने प्रष्ट पार्न पनि आयोगले निर्देशन दिएको छ ।

जिल्ला प्रशासन कार्यालयमार्फत राहत वितरणको काम गर्न सके पनि किन मन्त्रीकै उपस्थितिमा वितरण गर्न जानुपर्ने बाध्यता थियो वा थिएन भन्ने पनि प्रश्न सोधिएको छ । उनलाई आयोगले किन जरिवाना गर्नु नपर्ने भनेरसमेत प्रश्न गरेको छ ।