काँग्रेसको विजय सुनिश्चित : महामन्त्री कोइराला

काँग्रेसको विजय सुनिश्चित : महामन्त्री कोइराला

नवलपरासी, १९ कात्तिक । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले आशन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली काँग्रेसको विजय सुनिश्चित रहेको दाबी गर्नुभएको छ ।

नवलपरासी (बर्दघाट सुस्ता) पूर्व निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत रहनुभएका डा कोइरालाले आज नवलपरासीकोे दलदलेमा पार्टीद्वारा आयोजित अगुवा कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो ।

कार्यकर्तालाई सम्बोधन गर्दै महामन्त्री डा कोइरालाले नेपाली काँग्रेस कहिल्यै पनि विचलित नहुने पार्टी भएकाले यसलाई कसैले कमजोर बनाउन नसक्ने जिकिर गर्नुभयो ।

नेपाली काँग्रेस वाम गठबन्धनका कारण चुनावमा कमजोर हुन्छ भनेर हल्ला चलाए पनि त्यो निराधार भएकाले अब संविधानको संस्थागत विकासका लागि निर्वाचन नेपाली काँग्रेसका पक्षमा आउने दाबी गर्नुभयो ।

नेपाली काँग्रेसकोे विजयलाई अब कसैले रोक्न नसक्ने ठोकुवा गर्दै डा कोइरालाले काँग्रेस जस्तोसुकै नीति अपनाएर पनि निर्वाचन आफ्नो पोल्टामा पार्न सक्षम हुने कोइरालाले दाबी गर्नुभएको छ ।

एक भएर काँग्रेस जिताउन जनताका माझ होमिन डा कोइरालाले सबै कार्यकर्तालाई निर्देशन दिनुभयो । मुलुकमा लोकतान्त्रिक र वामपन्थी गठबन्धनबीच प्रतिस्पर्धा रहेपनि काँग्रेसको नेतृत्वको गठबन्धनले यो चुनावमा प्रष्ट जित हात पार्ने कोइरालाले दाबी गर्नुभयो ।

डा कोइरालाले सशक्तरुपमा प्रचारप्रसारमा लाग्न, जनतालाई राम्रोसँग बुझाएर जान र निर्वाचन जसरी पनि जित्ने वातावरण तयार गर्न मातहतका सबै वर्गीय संगठनलाई महामन्त्री डा कोइरालाले निर्देशन पनि दिनुभयो ।

अहिले राजनीतिक दलभित्र तीव्र धु्रवीकरण भएपनि काँग्रेस बलियो शक्ति भएको र यसले काँग्रेसभित्र थप एकता र संगठित हुने अवसर दिएको उहाँले बताउनुभयो ।

काँग्रेस महामन्त्री कोइरालाले पार्टीका नेता तथा कार्यकर्तालाई पार्टीका उम्मेदवारलाई जिताउन निर्देशन दिँदै भन्नुभयो, “काँगे्रस हार्दा मुलुक र लोकतन्त्र हार्ने भएकाले काँगे्रसका कार्यकर्ता गम्भीर हुनु जरुरी रहेको छ ।”   रासस