काठमाडौं – काठमाडौं महानगरपालिकाले राजानीको १० स्थानमा आकाशेपुल निर्माण गर्ने भएको छ । व्यापारिक प्रायोजनका लागि नभई बटुवा आवतजावत गर्ने प्रयोजनका लागि स्टिल स्ट्रक्चरको आकाशेपुल निर्माण गर्न लागेको हो । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।
सडक विभागको परामर्शअनुसार साउन महिनादेखि ती पुल निर्माण हुनेछन् । करिब ५ करोड रुपैयाँ लागतमा निर्माण हुन लागेका सबै आकाशेपुल ट्रान्सपरेन्ट हुनेछन् ।
कामपाले चाबहिल, नयाँ बानेश्वर, कोटेश्वर, माइतीघर, कालिमाटी, गौशाला, बागबजार, त्रिपुरेश्वर, महाराजगञ्ज चोक र बबरमहल गरी १० स्थानमा आकाशेपुल निर्माण गर्न लागेको जनाएको छ ।
हाल राजधानीको जमल, भोटाहिटी, न्युरोडस्थित नेपाल वायु सेवा निगम अगाडि, शहीटगेट, रत्नपार्क, रणोद्दिप चोक, नयाँ बसपार्क र रत्नपार्कमा आकाशेपुल छन् र चीन सरकारको सहयोगमा बिस्तार भएको बाटोमध्ये बल्खुदेखि कोटेश्वरसम्म ५ स्थानमा आकाशेपुल रहेका छन्। सवारी चापसँगै अति व्यस्त सडकहरूमा बाटो काट्न अति समस्या भएको व्यापक गुनासो आउन थालेपछि कामपाले नयाँ स्थान पहिचान गरी आकाशेपुल निर्माण गर्न लागेको छ।