पुराना हेलिकप्टर बेच्दै, नयाँ किन्दै सेना

पुराना हेलिकप्टर बेच्दै, नयाँ किन्दै सेना

काठमाडौँ २३ वैशाख । नेपाली सेनाले लिलामीमा राखेका फ्रेन्च कम्पनीको दुई पुराना हेलिकप्टर चिनियाँ आकाशमा उड्ने भएका छन् । हेलिकप्टर तालिम दिने एक चिनियाँ कम्पनीले ती दुई हेलिकप्टरको लिलामी सकारेको हो । यो खबर आजको कान्तिपुर दैनिकबाट लिएका हौं ।

कम्पनीले आवश्यक प्रक्रिया पूरा गरी आगामी साता चार दिन लगाएर नेपाली सेनाका पाइलटसहित उक्त हेलिकप्टर दक्षिणी चीन पुर्‍याइदिने छन्। हाल एयरबस हेलिकप्टरले त्यस्ता हवाई साधन निर्माण गर्छ। सेनाले भने युरो हेलिकप्टर कम्पनी हुँदै ती हेलिकप्टर खरिद गरेको हो।
सेनाले हेलिकप्टर बेच्ने सबै कागजी प्रक्रिया सकिएको जनाएको छ। कम्पनीले बैनाबापत १० प्रतिशत रकम (३ करोड २७ लाख) बुझाइसकेको छ। सेनाको हवाई निर्देशनालयले दुई थान ‘सुपर पुमा’ र त्यसका पार्टपुर्जालाई ३१ करोड ६६ लाख न्यूनतम बोल–कबोल मूल्य तय गरेको हो। बाँकी रकम आउनेबित्तिकै सेनाले ती हेलिकप्टर कम्पनीलाई हस्तान्तरण गर्नेछ।

निर्देशनालयका अनुसार हाल ती हेलिकप्टर मर्मत कार्य भइरहेको छ। यसअघि सेनाले बेचेको पुरानो ‘पुमा’ हेलिकप्टर अफ्रिकी आकाशमा उड्ने निश्चित भइसकेको छ। त्यो हेलिकप्टर अझै अफ्रिका लाने प्रक्रियामै छ। नेपाली सेनाले त्यसको पूर्ण रकम पाइसकेको छ। एजेन्टमार्फत बिक्री गरिएको पुमा हेलिकप्टर दुई महिनाअघि नै अफ्रिका पुग्ने भनिए पनि अझै केही समय लाग्ने भएको छ।

सेनाले नौ हवाई साधन र तिनका पार्टपुर्जा बिक्री प्रक्रिया अघि बढाएको एक वर्षभित्र ३ हेलिकप्टर र एक विमान बिक्री भएको हो। एभ्रो विमान लिलामीबारे भने अझै निर्णय भइसकेको छैन। निर्देशनालयले लिलामीमा राखिएका सबै हवाई साधन र पार्टपुर्जाको कुल न्यूनतम मूल्य ६५ करोड ७६ लाख ५८ हजार निर्धारण गरी बोलकबोलमा बिक्री घोषणा गरेको थियो। धेरै रकम आउने दुई सुपर पुमा र एक पुमा हेलिकप्टर बिक्री भएको हो। अरूको मूल्यांकन निकै न्यून छ। एभ्रो विमानको १० प्रतिशत बैना जम्मा भएको र अन्य रकमबारे छलफल भइरहेको सैनिक अधिकारीले बताए।

सेनाले अफ्रिकी महादेशमा कार्यरत आफ्ना सैनिक अधिकृतमार्फत बिक्रीको लबिइङ गरिरहे पनि त्यहाँ एउटा मात्र जाने भएको छ। चीनतर्फ प्रशिक्षणमा जाने सैन्य अधिकारीहरूमार्फतको लबिइङबाट दुई हेलिकप्टर चीन जाने निश्चित भएको हो। सेनाले आफ्नो सैन्य कूटनीतिलाई सक्रिय बनाइरहेका कारण बिक्री सम्भव भएको अधिकारीहरू बताउँछन्।

चीन लैजाने ‘सुपर पुमा’ पनि अफ्रिका पुर्‍याउने ‘पुमा’ कै शैलीमा सामान्य मर्मतपछि उडान भरेरै लैजान सकिनेछ। यी हेलिकप्टर मर्मतपछि राम्रै उडान भर्न सक्ने निष्कर्ष एजेन्टको छ। सेनाले मर्मतमा धेरै खर्च लाग्ने र यहाँ सुरक्षा सतर्कता बढी नै रहेका कारण पनि त्यो हेलिकप्टर नउडाउने निधो सेनाले गरेकाले कवाडीमा बिक्री गर्न लागिएको हो। हेलिकप्टर र त्यसमा उपयोग हुने पार्टपुर्जा पनि सँगै जोडेर बिक्रीमा राखिएको हो। धेरै पटक मर्मत गर्नुभन्दा नयाँ खरिद प्रक्रिया मुलुकको हितमा रहेको निष्कर्षमा सेनाले नयाँ तीन हेलिकप्टर खरिद प्रक्रिया पनि अघि बढाएको छ। यद्यपि अर्थ मन्त्रालयले केहीमा बजेट अभाव हुन सक्ने बताउँदै आएको छ।

‘तीन हेलिकप्टर जाने निश्चित भइसकेको छ। एक अफ्रिकी मुलुक र दुई छिमेकी चीन जाने भएको छ,’ सैन्य प्रवक्ता सहायक रथी गोकुल भण्डारीले कान्तिपुरसँग भने, ‘एक एभ्रो प्लेनका लागि १० प्रतिशत रकम जम्मा भइसकेको छ। त्यसमा पनि स्वीकृतिलगायतको विषयमा छलफल भइरहेको छ।’ एभ्रो जुन मुलुकमा लैजान लागिएको हो, त्यो मुलुकको स्वीकृतिलगायत प्रक्रियाका कारण ढिलाइ भए पनि एजेन्टले लैजाने प्रक्रियामा हार मानेको छैन। तीन थान पुमा र सुपर पुमा हेलिकप्टर तथा एभ्रो हवाईजहाज लिलामी निश्चित भए पनि एक चिता, दुई एलौट र दुई एमआई १७ हेलिकप्टर र त्यसका पार्टपुर्जा लिलामी हुन सकेको छैन। एलौट निकै पुरानो भइसकेको छ भने एमआई १६ को बडीको लाइसेन्सले समस्या परेको सेनाले बताएको छ।

बेलायतले नेपाललाई उपहार दिएको एमआई हेलिकप्टरको भने उत्पादन कम्पनीको लाइसेन्स नभएकाले बिक्रीमा समस्या आएको हो। एमआई १७ को अन्य सामग्री बिक्री नभए पनि ‘बडी’ बिक्री हुन सक्ने सैन्य अधिकारीहरूले बताए। तर बेलायतसँग सहकार्य गरेर त्यसको उत्पादन लाइसेन्सको प्रक्रियासमेत अघि बढाइएको एक अधिकारीले बताए। सेनाले अहिले आठै पृतनामा उद्धारका लागि एक/एक हेलिकप्टर, केन्द्रमा केही हेलिकप्टर र स्काई ट्रक राख्न जोड गरेको छ। त्यसअन्तर्गत तीन हेलिकप्टर र प्लेन सेनाले खरिद गर्दैछ। त्यस्तै, चार स्काई ट्रक अमेरिकी सरकारले सहयोगस्वरूप उपलब्ध गराउँदै छ।

दुई एमआई १७ को मूल्य २० लाख रुपैयाँ न्यूनतम मूल्य राखेर लिलाम बिक्रीको सूचना प्रकाशित गरिएको थियो। पुरानो एलौटको मूल्य ५० लाख र १ करोड राखिएको छ। रक्षा मन्त्रालय उच्च स्रोतका अनुसार सेनाले तय गरेको न्यूनतम लिलाम मूल्य वैज्ञानिक नभएकाले खरिदकर्ता त्यति आकर्षित छैनन्।