सिन्डकेटधारी यातायात व्यवसायी पछि हटे, आजबाट नियमित यातायात सुचारु

सिन्डकेटधारी यातायात व्यवसायी पछि हटे, आजबाट नियमित यातायात सुचारु

काठमाडौं, २२ बैशाख । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले शुक्रबार गरेको देशब्यापी चक्काजाम आजबाट हटाउने निर्णय गरे सँगै यातायात नियमित सुचारु भएका छन् । सरकारले सिन्डिकेटविरुद्ध अभियान छेडेपछि आन्दोलनरत यातायात व्यवसायीहरु पछि हटेका हुन् । सिन्डिकेटको पक्ष लिएर देशभर गाडी थन्क्याएका व्यवसायीमाथि सरकारले धरपकड र हस्तक्षेप बढाएपछि उनीहरु आजबाटै यातायात सञ्चालन गर्ने भएका हुन्।

यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मूल समितिका संयोजक योगेन्द्रनाथ कर्माचार्यले देशभरको यातायात सुचारु गर्न सम्पुर्ण समितिहरुलाई आह्वान गरेका छन् । विज्ञप्ती निकालेर देशभर गाडीहरु ग्यारेजमा थन्क्याई उत्रिएको आन्दोलनमा साथ दिएको भन्दै यात्रु र सर्वसाधरणलाई पनि धन्यवाद दिइएको छ।
साथै सरकारले नियन्त्रणमा लिएका यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष कृष्ण सुवेदी, कोषाध्यक्ष दम्बर पन्त, महासचिव सरोज सिटौलालगायत देशभरबाट पक्राउ परेका यातायात व्यवसायी कर्मचारी तथा मजदुरलाई बिना शर्त रिहाई गर्न मागसमेत गरेको छ।