‘हिरो रिटर्न्स’ काे शिर्ष गीत रिलिज

‘हिरो रिटर्न्स’ काे शिर्ष गीत रिलिज
यसअघि बैशाख २८ लाई प्रदर्शन मिति तय गरेको फिल्म ‘हिरो रिटर्न्स’ रिलिज पोष्टपोण्ड भएको छ । निर्माता भिम न्यौपानेकै लगानीमा बनेको अर्को फिल्म ‘सुनकेसरी’को पनि एकसाथ जस्तो रिलिज मिति तय हुँदा हुनसक्ने संभावित घाटालाई मध्यनजर गर्दै तत्काललाई ‘हिरो रिटर्न्स’को रिलिज रोकिएको हो । अफिसियल रुपमा मिति तय नहुँदै गर्दा निर्माण टिम भने जेठको अन्त्यमा फिल्म ल्याउने तयारीमा जुटेको छ ।
यसैबीच फिल्मको शिर्ष गीत रिलिज भएको छ । प्रचार प्रसारलाई अघि बढाउने हेतुले फिल्मको ‘हिरो’ बोलको टाइटल गीत सार्वजनिक गरिएको हो । कार्यकारी निर्माता चन्द्र गौतमले गीत रिलिजसँगै फिल्मको पब्लिसिटी सुरु भएको बताए । गौतमले छिट्टै नै फिल्मको ट्रेलर रिलिजसँगै प्रदर्शन मिति बाहिर ल्याउने बताएका छन् । सार्वजनिक गीतमा अभिनेता सविन श्रेष्ठसँगै अभिनेत्री आँचल शर्मा मुख्यतः फिचर छन् । गीतमा आँचललाई बोल्ड अबतारमा प्रस्तुत छिन् । यसअघि फिल्मसँग जोडिएर कतै पनि नदेखाइएकी आँचलको उपस्थितीले दर्शकलाई फिल्मप्रति थप कौतुहलता छोडेको  छ ।
टंक बुढाथोकीको शब्द तथा संगीतमा तयार भएको गीतमा स्वर टंकसँगै मनिषा पोखरेलको छ । हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको गीतको भिडियोमा कोरियोग्राफी कविराज गहतराजले गरेका छन् । सम्पादन मित्र डि. गुरुङको छ । दर्जनौं कोरससहित तयार गरिएको गीतमा उच्च प्रोपर्टी देख्नसकिन्छ । तर लिड अभिनेत्री रेखा थापालाई भने गीतलाई फिचर गरिएको छैन ।
आशिष भेटवालको निर्देशनमा बनेको फिल्मलाई मदन कस्यप घिमिरेले छायांकन गरेका हुन्। भिमसँगै अमित श्रेष्ठ निर्माता रहेको फिल्ममा टंकसँगै दीपक शर्माको संगीत छ । चन्द्र पन्तले द्वन्द्व निर्देशन गरेका छन् । फिल्मलाई हेटौंडा र काठमाडौं खिचिएको  छ । ‘हिरो रिटर्न्स’मा प्रस्तुतकर्ता रहेका सविन र रेखासँगै दिल श्रेष्ठ , सरोज खनाल, सुलेमान शंकर इकु, सुरेश थापा (दर्शने), रोशन श्रेष्ठ, डिबी बम्जम, सुशान्त श्रेष्ठ, किरण थापा, लक्ष्मी गिरी लगायत लिड अभिनयमा छन् ।
‘हिरो’ फिल्मबाट नेपाली रजतपटमा डेब्यू गर्दै स्टार अभिनेत्रीको ट्याग पाएकी रेखा यो फिल्म रिलिज हुँदा आफ्नै डेब्यू फिल्मको ब्राण्डलाई पुनः जिवित राख्ने कोशिशमा हुनेछिन् । सुरुवाती चरणमा खिचिएका केहि दृश्यहरु पुनः छायांकन गर्नुपर्दा रिलिजमा ढिलाइ भएको निर्माण टिमले यसअघि नै बताइसकेको छ । फिल्मले एक्शनसँगै कमेडी जनरा बोल्छ ।