चूडामणि शर्मा गोरेको समूहले जुलाई ०१५ अर्थात ०७२ को असार साउनयता खेपखेप गरेर ३७ लाख ९९ हजार ५६५ग्राम अर्थात तीन हजार ७९९ किलो सुन तस्करी गरेको छानबिन समितिले ठहर गरेको छ । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिएका हौँ ।
तीमध्ये अधिकांश सुन विमानस्थलबाटै भित्रिएको बताइन्छ । आखिर कसरी भित्रिन्छ यति धेरै सुन ? पूर्वएआईजी विज्ञानराज शर्माले आजको नयाँ पत्रिका दैनिकमा भन्छन्–त्यहाँ विभिन्न घेरा हुन्छन् । तस्करले पहिलो चरणमा भन्सार कार्यालयका कर्मचारीसँग ‘सेटिङ’ मिलाउँछन् । एयरलाइन्सका कर्मचारीसँग पनि ‘सेटिङ’ हुन्छ । तेस्रो घेरामा मात्र प्रहरीसँग ‘सेटिङ’ हुन्छ । त्यस्तै, अध्यागमनका कर्मचारी र गुप्तचरसँग पनि मिलेमतो हुन्छ ।
विमानस्थलमा खटिएका गुप्तचरसँग भने तस्करको सोझो सम्पर्क हुँदैन । भन्सार र अध्यागमनका कर्मचारीमार्फत गुप्तचरका कर्मचारी सँग मिलेमतो हुन्छ ।
यसरी सबै संयन्त्र कब्जामा लिएपछि तस्करीको योजना सफल हुन्छ । त्यसैले छानबिन सबै संयन्त्रमाथि हुनुपर्ने हो ।
सुन पठाउनुअघि विमानस्थलका सबै संयन्त्रमा मान्छे फिट गरिएका हुन्छन् । सबै मान्छे आ–आफ्नो ठाउँमा रहेको पक्का भएको खबरपछि मात्रै तस्करले जहाजमार्फत सामग्री पठाउँछ । यस क्रममा उसले तस्करीका सामग्री प्याक गरिएको लगेजको फोटो खिच्छ ।
यस्तो फोटो भाइबर, इमो वा फेसबुकमार्फत भन्सार र एयरलाइन्सका कर्मचारीकहाँ आइपुग्छ । एयरलाइन्सका कर्मचारीमार्फत ‘सर्कुलेट’ हुँदै सम्बन्धित जहाजको लोडरसम्म पुग्छ । सोही फोटोका आधारमा तस्करको सामग्री पहिचान हुन्छ ।
लोडरले अन्यसँगै तस्करका सामग्रीलाई गाडीमा लोड गरेर भन्सार चेकजाँच कक्षमा लैजान्छ । सामान्यतः जहाजबाट आएका सम्पूर्ण सामग्री एक्सरे मेसिनमा एक–एक गर्दै चेकजाँच गरिन्छ । तर, तस्करीका सामान सकेसम्म एक्सरे मेसिनमा राखिन्न । राखिहाले पनि चेकजाँच गर्नेले नदेखेझैँ गरिदिन्छ । किनकि, त्यो लगेजको फोटो जाँच गर्ने कर्मचारीसम्म पुगिसकेको हुन्छ । तस्करीको सामान सुन हो भने रातारात सीमा कटाइन्छ ।