मोदी गाडीमै जानकी मन्दिर जाने, दुबै प्रधानमन्त्रीले सँगै पूजा गर्ने

मोदी गाडीमै जानकी मन्दिर जाने, दुबै प्रधानमन्त्रीले सँगै पूजा गर्ने

भारतीय इन्डियन फोर्सको हेलिकोप्टरबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख२८ गते बाह्रबिघा मैदानमा अवतरण गर्नेछन्। मोदी पटनाबाट तीनवटा होलिकोप्टर लिएर जनकपुर आउँदै छन् । यो खबर आजको नयाँ पत्रिकाबाट लिएका हौ।

स्रोतका अनुसार प्रदेश २ सरकारले भने मोदीको हेलिकोप्टर जनकपुर विमानस्थलमा अवतरण गराउन भारतीय पक्षलाई आग्रह गरेको छ । बाह्रबिघामा बालुवा–गिट्टी बढी भएकाले हिँड्न समस्या हुन सक्ने भन्दै यस्तो आग्रह गरेको स्रोतले जनायो ।

मोदी बाह्रबिघा मैदानबाट गाडीमै जानकी मन्दिर जाने भारतीय अधिकारीले नेपाली अधिकारीलाई जानकारी दिएका छन् । तर, नेपाली पक्षले गाडी र पैदल दुवै विकल्प राख्ने गरी तयारी थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको हेलिकोप्टर भने बाह्रबिघाबाहेक स्थानमा अवतरणको व्यवस्था मिलाउने प्रदेश सरकारको तयारी छ ।

मोदीको स्वागतका लागि प्रधानमन्त्री केपी ओली जनकपुर आउने भएका छन् । प्रधानमन्त्री ओलीले मोदीलाई जानकी मन्दिर परिसरमा स्वागत गर्ने र सँगै जानकी मन्दिरमा पूजा गर्ने तयारी भइरहेको स्रोतले जनायो । उनीहरू ३० देखि ४५ मिनेट जानकी मन्दिरमा बस्ने बताइएको छ ।

पूजा सकेलगत्तै प्रधानमन्त्री ओली मन्दिरबाटै काठमाडौं फर्कने कार्यक्रम छ । तर, रक्षामन्त्री ईश्वर पोखरेल भने मोदीको भ्रमणभर जनकपुरमै रहने स्रोतको भनाइ छ ।

भारतीय प्रधानमन्त्री मोदी र उनलाई स्वागत गर्न आउने प्रधानमन्त्री ओलीलाई जानकी मन्दिरले भव्य स्वागत गर्ने भएको छ । जानकी मन्दिरका छोटा महन्थ रामरोशन दासले दुवै देशका प्रधानमन्त्रीलाई भव्य स्वागत गर्ने तयारी गरिरहेको बताए । उनले भने, ‘दुई देशका प्रधानमन्त्री एकैसाथ जानकी मन्दिरमा आउनु ऐतिहासिक क्षण हो, त्यसलाई विशेष बनाउन हामी कुनै कसर बाँकी राख्दैनौँ ।’

मोदीले सम्बोधन गर्ने मञ्चमा चारजना मात्र राखिने भएको छ । मोदीसँगै प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थ, मुख्यमन्त्री मोहम्मद लालबाबु राउत र जनकपुर उपमहानगरपालिका मेयर लालकिशोर साह मञ्चमा बस्नेछन् ।