

काठमाडौं । सत्ता गठबन्धनले सिट बाँडफाँडका लागि गठन गरेको कार्यदलको बैठक आज पनि बस्दैछ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँड टुङ्ग्याउने जिम्मा पाएको पाँच दलीय गठबन्धनको बैठक दिउँसो १ बजे बस्ने भएको छ । कार्यदललाई लगातार बैठक बसेर दुई दिनभित्र सिट बाँडफाँडको टुङ्गो लगाउन हिजो बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठकले निर्देशनसमेत दिएको छ ।
हिजो सत्ता गठबन्धनका शीर्ष नेता र कार्यदलको बैठक बसेपनि ठोस निश्कर्ष भने निस्कन नसकेपछि बैठक आजपनि बस्न लागेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले दुई दिनभित्र टुङ्गो लाग्ने गरी छलफल अगाडि बढेको जानकारी दिए । सिट बाँडफाँड गर्दा सबै दलका लागि न्यायोचित, सम्मानजनक र विन विन हुनेगरी निर्णय लिइने उनको भनाइ छ । पछिल्ला केही दिनदेखि सिट बाँडफाँड टुङ्गो लगाउन निरन्तर कार्यदल क्रियाशील रहे पनि सिट सङ्ख्यामा दलहरूको आ–आफ्नै दाबी रहेपछि गठबन्धनले ठोस निश्कर्ष निकाल्न सकेको छैन ।