डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढ्यो

डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढ्यो

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६/६ रुपैयाँले बढाएको छ । निगमले आजबाट लागू हुनेगरी भाउ बढाएसँगै डिजेल र मट्टितेल लिटरको १ सय ७८ रुपैयाँ पुगेको छ । डिजेल र मट्टितेलको मूल्य बढेको भए पनि खाना पकाउने एलपी ग्यास, पेट्रोल र हवाई इन्धनको मूल्य भने यथावत छ ।

पछिल्लो समय लगातार तीन पटक मूल्य घटेर आउँदा गत आर्थिक वर्षको घाटालाई देखाएर नेपाली बजारमा मूल्य समायोजन गर्न नमानेको आयल निगमले गएराति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाएको हो । इन्डियन आयल कर्पोरेशन (आइओसी) ले हिजो दिउँसो पठाएको नयाँ मूल्य अनुसार पेट्रोल १ रुपैयाँ ३९ पैसा, डिजेल ६ रुपैयाँ १२ पैसा र हवाई इन्धन ८ रुपैयाँ १ पैसा बढेर आएको थियो । दसैँको मुखमा डिजेलको मूल्य बढ्दा सार्वजनिक यातायात र ढुवानीका साधनको भाडादर बढ्ने आँकलन छ ।