

काठमाडौँ । त्रिभुवन विमानस्थलबाट बाहिरिएको तस्करीको ३३ किलो सुनबारे अनुसन्धानमा खटिएका एकजना प्रहरी अधिकृत नै पक्राउ परेका छन् । प्रहरीले मोरङका सुन व्यापारी सनम शाक्यको हत्यापछि अनुसन्धानमा खटिएका डिएसपी प्रजीत केसीलाई पक्राउ गरेको हो । उनलाई पक्राउ गरी प्रहरीले कर्तव्य ज्यान तथा संगठित अपराध मुद्दामा अनुसन्धान गर्न अदालतबाट म्याद समेत थपेको छ। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकबाट लिएका हौं ।
सनम शाक्यको हत्याकाण्डबारे अनुसन्धानको जिम्मेवारी पाएका केसीको सम्पर्क सुन तस्करीमा संल्गन गोरे उपनामका चुडामणि उप्रेतीसँग पाइएपछि केसीलाई हिरासतमा लिइएको हो ।
मोरङको उर्लाबारी नगरपालिका-७ निवासी सुन व्यापारी सनम शाक्यको हत्यापछि केसी यसको अनुसन्धानमा खटिउका थिए । फागुन १९ मा शाक्यको हत्या भएपछि शव बरामद गरेर अनुसन्धानका लागि महानगरीय प्रहरी अपराध महाशाखाबाट केसीको टोली विराटनगर गएको थियो ।
यो प्रकरणमा महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीसमेत तानिइसकेका छन् । उनी पनि हाल मोरङ प्रहरीको हिरसातमा छन् । यो प्रकरणमा लोहनी, केसी र सई बालकृष्ण सञ्जेलको सम्पर्क सुन तस्करीका नाइके उप्रेतीसँग जोडिएको पाइएपछि गृहमन्त्रालयबाट सहसचिव ईश्वर पौडेलको संयोजकत्वमा गठित छानबिन समितिको सिफारिसमा सरकारले उनीहरुलाई जिम्मेवारीविहीन बनाइसकेको छ ।
यही प्रकरणमा पूर्वडीआईजी गोविन्द निरौला पनि पक्राउ परेर हाल मोरङ प्रहरीकै हिरासतमा छन् । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादलको निर्देशनमा छानबिन समितले यो प्रकणमा जोडिएका २५ जना बढीलाई हिरासतमा लिइसकेको छ। यो काण्डमा पूर्वडिआइजी निरौला, जिल्ला प्रहरी कार्याल मकवानपुरमा कार्यरत एसपी विकासराज खनाल र डिएसपी सञ्जय राउतसहित २५ जनामाथि समितिले अनुसन्धान अघि बढाइसकेको छ।