काठमाडौं, १६ बैशाख । वैदेशिक रोजगारीको प्रमुख गन्तव्यमध्येको मलेसियामा नेपाली कामदारलाई जथाभावी थुन्ने र यातना दिने गरेको पाइएको छ। मलेसियामा कार्यरत नेपाली कामदारको अवस्था अध्ययन गर्न हालै स्थलगत भ्रमणमा गएको प्रतिनिधिसभा सदस्य सम्मिलित एक टोलीका अनुसार पछिल्लो समय मलेसियाका सुरक्षाकर्मीले गैरकानुनी रुपमा नेपाली कामदारलाई थुन्ने, यातना दिने काम गरेका छन्। यो खबर आजको नागरिक दैनिकबाट लिएका हौं ।
मलेसियामा कार्यरत श्रमिकलगायत विभिन्न निकायसँग छलफल गरी फर्केको टोलीका सदस्य तथा सांसद प्रकाश रसाइलीका अनुसार मलेसियाको रोजगारी नेपालबाट हेरेभन्दा निकै फरक छ। मलेसियमा करिब सात लाख नेपाली छन्। यीमध्ये तीन लाख हाराहारीमा नेपाली गैरकानुनी रुपमा बसिरहेको बताइन्छ। मलेसिया पुगेकामध्ये १७१ जना जेलमा रहेको मलेसियास्थित नेपाली दूतावासले जनकारी गराएको छ। जेलमा रहेकामध्ये १५ जनामाथि मृत्युदण्ड हुनसक्ने मुद्दा चलिरहेको छ। मुद्दा चलेका तीन जनालाई मृत्युदण्ड दिने फैसला त्यहाँको अदालतले सुनाइसकेको छ।