

काठमाडौं, ७ भदौ।प्रतिनिधिसभाको जारी बैठक एक सातासम्म स्थगित गर्न आग्रह गरेर एमाले निर्वाचन केन्द्रित पार्टी गतिविधिमा जुटेको हो । आन्तरिक तयारी पूरा गरेर एमाले निर्वाचनमा होमिने योजनामा रहेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
एमालेले १२ भदौसम्मको कार्यसूची सार्वजनिक गरेको छ । जसअनुसार मंगलबार स्थायी समिति बैठक, ९ भदौमा पोलिट्ब्युरो बैठक, १० र ११ गते केन्द्रीय कमिटी बैठक तथा १२ भदौमा केन्द्रीय निर्वाचन परिचालन कमिटी बैठक आयोजना गरिने रिजालले बताए । एमालेकै आग्रहमा सभामुख अग्निप्रसाद सापकोटाले आगामी १३ भदौमा बस्ने गरी मंगलबार प्रतिनिधिसभा बैठक स्थगित गरेका छन् ।
आजको बैठकमा कानुनमन्त्री गोविन्द बन्दीले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ पेश गरेका छन् ।