

काठमाडौं । नेपाली काँग्रेसका नेता एवं समाजवादी चिन्तक स्वर्गीय प्रदीप गिरीको आजै अन्त्येष्टि गरिने भएको छ । गिरीको ७५ वर्षको उमेरमा गएराति साढे ९ बजे उपचारको क्रममा निधन भएको थियो । प्रतिनिधि सभा सदस्यसमेत रहनुभएका गिरीको एक महिनादेखि ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो ।
घाँटीको क्यान्सरबाट पीडित गिरीले भारतमा एक वर्षसम्म उपचार गराएर नेपाल फर्किएका थिए । उनलाई गत साउन ८ गते स्वास्थ्यमा समस्या देखिएपछि मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारमा संलग्न डा.पङ्कज वर्मनले राति साढे ९ बजे निधन भएको बताए । गिरीको निधनप्रति नेपाली काँग्रेसले शोक व्यक्त गरेको छ । काँग्रेसले गिरीको निधनबाट स्तब्ध र मर्माहत भएको उल्लेख गर्दै स्वर्गीय गिरीले नेपाली काँग्रेसको सङ्गठन विस्तार र लोकतान्त्रिक आन्दोलनमा पुर्याएको अतुलनीय योगदान पार्टीको इतिहासमा स्मरणीय रहने शोक वक्तव्यमा उल्लेख गरेको छ ।
गिरीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आज बिहान ९ देखि ११ बजेसम्म नेपाल मेडिसिटी अस्पतालको प्राङ्गणमा रहेको शिवालय मन्दिरमा राखिने छ भने बिहान साढे ११ बजेदेखि २ बजेसम्म नेपाली काँग्रेस केन्द्रीय कार्यालय, वीपी स्मृति भवन सानेपामा राखिने काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । २ बजेपछि पशुपति आर्यघाटमा गिरीको अन्त्येष्टि गर्ने तयारी भएको पनि उनले बताए । नेता गिरीको निधनमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले शोक वक्तब्य निकालेर श्रद्धाञ्जली अर्पण गरेका छन् ।