प्रतिनिधि सभाको बैठक आज, फिर्ता गरिएको नागरिकता विधेयकबारे जानकारी गराइने

प्रतिनिधि सभाको बैठक आज, फिर्ता गरिएको नागरिकता विधेयकबारे जानकारी गराइने

काठमाडौं, ३१ साउन।प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाउनुभएको विषयमा जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ ।

सङ्घीय संसद्का दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक पुनर्विचारका लागि राष्ट्रपति भण्डारीले गत आइतवार प्रतिनिधि सभामै फिर्ता पठाउनुभएको थियो । राष्ट्रपति कार्यालयको पत्र हिजो नै सङ्घीय संसद् सचिवालयमा पुगिसकेको छ । आजको बैठकमा अर्थ समितिको प्रतिवेदन र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ को विभिन्न दफालाई निर्णयार्थ प्रस्तुत गर्ने, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहितको पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने, पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९ लाई पारितका लागि प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

स्टाण्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयक दफावार छलफलका लागि प्रस्ताव गर्ने र आजै पारितका लागि प्रस्ताव गर्ने, प्रत्यायन विधेयकमाथिको दफावार छलफल र पारितका लागि सदनमा प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची पनि रहेको छ ।