एन्फा निर्वाचन वैशाख २२ गते

एन्फा निर्वाचन वैशाख २२ गते

काठमाडौं : पटकपटक सर्दै आएको अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन यही वैशाख २२ गते हुने भएको छ । पाटन उच्च अदालतमा परेको रिटका कारण यसअघि १४ गतेको रोकिएको एन्फा निर्वाचन अदालतको निकासापछि २२ गते हुन लागेको हो। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकबाट लिएका हौँ ।

पाटन उच्च अदालतमा अघिल्लो साता रिटको निकास दिनका लागि एन्फाले भ्याकेट (रिट खारेजी गरिपाऊँ) भनेर निवेदन दिएको छ । बुधबार अदालतले रिट खारेज गरिदिएपछि एन्फाको चुनाव हुने बाटो खुलेको हो । ‘निर्वाचन समितिको निर्णयअनुसार हामी २२ गते नै एन्फाको निर्वाचन गर्दैछौं । निर्वाचनका लागि केवल विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) को प्रतिनिधि बोलाउन बाँकी छ । अन्य सबै तयारी पूरा भइसकेको छ’, एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले भने ।

पाटन उच्च अदालतमा भक्तपुरका जिल्ला फुटबल संघ र मकवानपुर जिल्ला फुटबल संघले चैत १४ गते हुने भनिएको निर्वाचनमा आफूहरूलाई पनि सहभागी गराइनुपर्ने माग राख्दै रिट दिएका थिए । त्यसपछि अदालतले तत्काल निर्वाचन नगर्न नगराउन चैत ८ गते अन्तरिम आदेश दिएको थियो । अदालतको आदेशपछि एन्फाले विज्ञप्ति जारी गरी निर्वाचन स्थगित गरेको थियो । त्यसबीचमा भक्तपुर र मकवानपुरको जिल्ला निर्वाचन पूरा भए पनि ती जिल्लाका पदाधिकारीले रिट भने फिर्ता लिएका थिएनन् । एन्फाको निर्वाचन मिति छिटो तोक्न एएफसीले पनि एन्फालाई निर्देशन दिएको थियो । एन्फा कार्यसमितिको निर्वाचन यसअघि २०७० कात्तिकमा भएको थियो । चारवर्षे कार्यकाल गत कात्तिकमै सकिएको थियो ।

एन्फा निर्वाचनमा अध्यक्ष पदमा वरिष्ठ उपाध्यक्ष मणि कुँवर र कर्मा छिरिङ शेर्पाबीच प्रतिस्पर्धा हुँदैछ । आगामी चार वर्षका लागि अध्यक्ष पदमा कुँवर र शेर्पा दुईजनाको मात्र उम्मेदवारी परे पनि चार उपाध्यक्ष पदका लागि भने नौजना मैदानमा छन् । ११ सदस्यका लागि ३५ जनाको उम्मेदवारी परेको छ । महासचिव र कोषाध्यक्ष भने निर्वाचित कार्यसमितले चयन गर्ने प्रावधान छ । एन्फा चुनावमा ४५ जिल्ला, ए डिभिजनका १४, बी डिभिजनका नौ, सी डिभिजनका पाँच, महिला, रेफ्री, प्रशिक्षक र खेलाडी समितिका चार गरी ७७ वटा मत रहेको छ ।