१५ दिनभित्र सम्पत्ति विवरण बुझाउन निर्वाचन आयोगको निर्देशन

१५ दिनभित्र सम्पत्ति विवरण बुझाउन निर्वाचन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले केन्द्रीय पदाधिकारी तथा सदस्यको सम्पत्ति विवरण १५ दिनभित्र आयोगमा बुझाउन राजनीतिक दलहरूलाई निर्देशन दिएको छ । आयोगमा दर्ता कायम रहेका सबै राजनीतिक दलका केन्द्रीय सदस्य तथा पदाधिकारीको सम्पत्ति विवरण बुझाउन निर्देशन आयोगले निर्देशन दिएको हो ।

आयोगमा अहिले १ सय १६ वटा राजनीतिक दल कायम छन् । महाधिवेशन भएका र नभएका कुनै पनि दलका पदाधिकारी तथा सदस्यको सम्पत्ति विवरण आयोगमा नआएको आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले बताए ।

राजनीतिक दलसम्बन्धी ऐन–२०७३ ले केन्द्रीय समितिका पदाधिकारी र सदस्यमा निर्वाचित भएको व्यक्तिले निर्वाचित भएको ६० दिनभित्र आफ्नो चल तथा अचल सम्पत्तिको विवरण सिलबन्दी गरी दलको केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरेको छ । सम्बन्धित राजनीतिक दलले पेस भएको एक महिनाभित्र ती पदाधिकारी तथा सदस्यको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने ऐनमा उल्लेख छ । आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावका लागि आजदेखि दल दर्ता गर्दैछ ।