काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनले नेपाल कोरोनाको चौथो लहर र मङ्किपक्स भाइरसको उच्च जोखिममा रहेको चेतावनी दिएको छ । नेपाल स्थित विश्व स्वास्थ्य सङ्गठनले हिजो काठमाडौंमा पत्रकारहरूसँग अन्तरक्रिया गर्दै नेपाल कोरोनाको चौथो लहर र मङ्किपक्स भाइरसको उच्च जोखिममा रहेको बताएको हो ।
सङ्गठनका प्रमुख डा. राजेश सम्भाजीराव पाण्डवले पछिल्लो समय नेपालमा जुन गतिमा कोरोना सङ्क्रमित थपिँदै छन् त्यसले चौथो लहरको जोखिम बढाएको भन्दै सङ्गठनले कोरोना महामारी र मङ्किपक्सको जोखिमलाई नजिकबाट नियालिरहेको बताए । उनले दक्षिण पूर्वी एशियामै पहिलोपटक भारतमा मङ्किपक्स भाइरसबाट एकजनाको मृत्यु भएको र सङ्क्रमण पनि बढ्दै गएकाले नेपाल उच्च जोखिममा रहेकाले सोही अनुसारको तयारी भइरहेको बताए ।
कार्यक्रममा सङ्गठनका स्वास्थ्य आपताल कार्यक्रममा डा.एलिसन गोकोटानोले विश्वका विभिन्न मुलुकमा देखिएको मङ्किपक्स भाइरसको सङ्क्रमण अधिकांश समलिङ्गी समुदायका रहेको भएपनि यो सबै समुदायका व्यक्तिमा सर्ने भएकाले सङ्गठनले यसलाई विश्व स्वास्थ्य आपतकालको रुपमा घोषणा गरेको बताए ।
उनले हालसम्म विश्वका ४० भन्दा बढी मुलुकमा गरी २४ हजारभन्दा बढीमा मङ्किपक्स भाइरसको सङ्क्रमण देखिएको र पछिल्लो समय भारतमा पनि सङ्क्रमण देखिन थालेकाले नेपालमा जोखिम बढेको हुँदा स्वास्थ्य सावधानी अपनाउन आग्रह गरे । कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. खगेश्वर गेलालले बढ्दो कोरोनाको जोखिम र मङ्किपक्सको जोखिमलाई ध्यानमा राखेर सरकारले मुख्य १७ नाकामा स्वास्थ्य जाँचलाई कडाइ गरेको बताए ।
उनले देशका १६ वटा ठूला सरकारी अस्पताललाई मङ्किपक्सको उपचार गर्ने डेडिकेटेड अस्पताल तोकिएको भन्दै त्यहाँका १६ जना डर्माटोलोजिष्टलाई यसको विज्ञको रुपमा खटाइएको पनि जानकारी दिए ।