गुरुयोजनाविपरीत लुम्बिनीमा रिसोर्ट सञ्चालन गर्न दिने निर्णय खारेज

गुरुयोजनाविपरीत लुम्बिनीमा रिसोर्ट सञ्चालन गर्न दिने निर्णय खारेज

-मोहम्मद हबिब-

भैरहवा । लुम्बिनी विकास कोष परिषद्ले लुम्बिनी गुरुयोजनाविपरीत रिसोर्ट सञ्चालन गर्न जग्गा दिने निर्णय खारेज गरेको छ । कोषका अध्यक्ष तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठटको अध्यक्षतामा बसेको बैठकले गत १९ जेठमा बसेको कार्यकारिणी समितिको बैठकबाट समसर्मा वेलनेस रिसाेर्टलाई क्याम्पेन ग्राउन्डको जग्गामा निर्माण गर्न दिनेसम्बन्धी निर्णय खारेज भएको कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए ।

परिषद बैठकले प्राचीन कपिलवस्तु राज्यको राजधानी तिलौराकोटलाई विश्व सम्पदा सूचीमा मनोनयनका लागि रणनीतिक मनोनयन दस्तावेज तयार गर्न अन्तर्राष्ट्रिय विज्ञ डइन मार्सल, अष्ट्रेलियालाई छनाेट गर्ने, लुम्बिनी विकास कोषको आयोजनामा नोभेम्बर २०२२ मा लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने, लुम्बिनीलाई प्राप्त विद्युतीय गाडीहरू पर्यटकहरूको सुविधाका लागि सञ्चालन गर्न गठन गरिएको कार्यदललाई यथाशीघ्र प्रतिवेदन पेस गरी सञ्चालन गर्ने, कपिलवस्तु क्षेत्रको पुरातात्विक क्षेत्रको संरक्षण र विकास गर्न वृहत्तर लुम्बिनी गुरुयोजनाअन्तर्गत तिलौराकोटको गुरुयोजना तयार गर्न तथा पुरातात्विक क्षेत्रको प्रजेन्टेबल हुने गरी संरक्षण गर्न मन्त्रालयमार्फत पहल गर्ने परिषदले निर्णय गरेको छ ।

लुम्बिनी जाने पर्यटकहरूलाई सुविधायुक्त र सहज अवलोकनका लागि विद्युतीय बस सञ्चालनको निर्णय गरिएको हो । यसले लुम्बिनी क्षेत्रका पर्यटकीय सम्पदा अवलोकनका लागि जाने पर्यटकलाई सहज हुनेछ । परिषद् बैठकले लुम्बिनी गुरुयोजनाको काम चालू आर्थिक वर्षभित्र सम्पन्न गर्ने निर्णय पनि गरेको छ । साथै विभिन्न बौद्धस्थललाई समेटेर बनाइने दीर्घकालीन गुरुयोजना निर्माणको प्रारम्भिक खाका दुई महिनाभित्र तयार गरिने भएकाे छ ।

परिषद् बैठकमा सदस्य सचिव सानुराजा शाक्यले प्रस्तुत गरेको कोषको आव २०७९-८० को नीति तथा कार्यक्रम र कोषाध्यक्ष ढुण्डिराज भट्टराईले प्रस्तुत गरेको आव २०७९-८० को बजेट पारित भएको छ ।