काठमाडौं । कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको निधनपछि स्थगित भएको तीन सातापछि कांग्रेस केन्द्रीय समितिको बैठक सुरु भएको छ । तीनवटै तहको निर्वाचनमा पार्टीले बेहोर्नु परेको पराजयको समीक्षा गर्दै भावी मार्गचित्र तय गर्ने एजेन्डाका साथ गत चैत ९ गतेदेखि केन्द्रीय समितिको बैठक सुरु भएको थियो । तर १७ गते केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधनपछि १३ दिनका लागि स्थगित गरियो । वैशाख ३ गतेदेखि फेरि सुरु हुने तय गरिए पनि नेताहरूको व्यस्तताका कारण आइतबारदेखि मात्रै पुनः सुरु भएको हो ।
पराजयको समीक्षा तथा भावी मार्गचित्र तयार गर्नुका अलावा विधान संशोधनका लागि आगामी जेठको अन्तिम साता महासमितिको बैठक बोलाउने निर्णयसमेत यसै बैठकले गर्नेछ । बैठक अरु तीन दिन चल्ने बुझिएको छ । बैठकको अन्तिम दिन सभापति शेरवहादुर देउवाले पदाधिकारी मनोनयनको प्रस्ताव राख्ने तयारी छ । पदाधिकारी नियुक्तिसम्बन्धी सभापतिले राखेको प्रस्तावलाई निर्वाचित पदाधिकारी तथा केन्द्रीय समितिको बहुमतले अनुमोदन गरेपछि कार्यान्वयनमा आउने प्रावधान विधानमा छ ।
चालू बैठकको अन्तिम दिन पदाधिकरी मनोनयनको प्रस्ताव गरे पनि त्यसको अनुमोदनका लागि छुट्टै बैठक बोलाउनुपर्ने हुन्छ । चालू बैठकमा मनोनीत केन्द्रीय सदस्यहरू पनि सामेल छन्, तर पदाधिकारी अनुमोदन गर्ने बैठकमा निर्वाचित केन्द्रीय सदस्यहरू मात्रै सामेल हुनेछन् । चालू बैठक सकिएको एक साताभित्रै निर्वाचित केन्द्रीय समितिको बैठक बोलाएर पदाधिकारीको नाम अनुमोदन गर्ने तयारी सभापति देउवाको छ । निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको संख्या ६४ हो, तर खड्काको निधनपछि ६३ भएको छ । ६३ जनाको बहुमत ३२ हो । गत महाधिवेशनमा सभापति देउवाको पक्षबाट ३६ र नेता रामचन्द्र पौडेलको पक्षबाट २८ जना निर्वाचित भएका थिए । पौडेल पक्षका डा.मिनेन्द्र रिजाल, चीनकाजी श्रेष्ठ र डा.नारायण खड्का देउवा पक्षमा लागेका कारण पदाधिकारी अनुमोदन गर्न खासै समस्या छैन ।
समाचार स्रोतका अनुसार सभापति देउवाले उपसभापति पदमा विमलेन्द्र निधि, महामन्त्री पदमा ज्ञानेन्द्रबहादुर कार्की र पूर्णबहादुर खड्कामध्ये एक र सहमहामन्त्री पदमा डा.प्रकाशशरण महतको नाम प्रस्ताव गर्ने तयारी गरेका छन् । निधि २०५७ सालदेखि, कार्की र खड्का तथा महत २०६० सालदेखि निरन्तर पार्टीको केन्द्रीय सदस्य छन् ।