सञ्चार जगतले निडरताका साथ अधिनायकवाद विरुद्ध कलम चलाउनुपर्छ: सभापति देउवा

सञ्चार जगतले निडरताका साथ अधिनायकवाद विरुद्ध कलम चलाउनुपर्छ: सभापति देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सञ्चार जगतले निडरताका साथ कलम चलाउनुपर्ने बेला फेरी अाएकाे बताउनु भएको छ । अहिले वाम सरकार विरुद्ध काेही पनि बाेल्न डराउनुपर्ने किन भन्ने प्रश्न गर्दै उहाँले भन्नुभयाे – ‘मेराे विरुद्ध कलम चलिरहेकाे छ तर वर्तमान सरकारका विरुद्ध कलम चल्न किन डरायाे ? याे अधिनायकवादकाे सुरुवात हाे, यसका विरुद्ध पञ्चायतकालकाे विरुद्धका सबै मिडिया एक हुनुपर्ने समय हाे।’

देशान्तर साप्ताहिकको ३६औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा देउवाले देशान्तर पत्रिकाले पञ्चायतकालदेखि नै प्रजातन्त्रका पक्षमा निर्भीकताका साथ कलम चलाएको स्मरण गर्दै आगामी दिनमा पनि जनजीविकाका हरेक सवालमा निष्पक्षताका साथ मुद्दा उठान गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता, स्वतन्त्रपूर्वक भेला हुने अधिकार र मानवाधिकार सधैँ सुरक्षित हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विगतको चुनौतीपूर्ण राजनीतिक परिवेशमा पनि देशान्तर पत्रिकाले प्रजातन्त्रका पक्षमा गरेको योगदान अविस्मरणीय रहेको उल्लेख गर्र्दै आगामी दिनमा पनि सफलताका लागि शुभकामना व्यक्त गर्नुभयो ।

काँग्रेस महामन्त्री डा शशांक कोइरालाले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै सञ्चार माध्यमका थोरै मात्र विकल्प रहेको पञ्चायतकालीन अवस्थामा देशान्तर पत्रिकाले प्रजातन्त्रका पक्षमा गरेको योगदान महत्त्वपूर्ण रहेको धारणा व्यक्त गर्नुभयो ।