साप्ताहिक राशिफल वैशाख १० गतेदेखि वैशाख १५ गतेसम्म

साप्ताहिक राशिफल वैशाख १० गतेदेखि वैशाख १५ गतेसम्म

मेष राशिकाे लागि साप्ताहिक फलादेश

आइतबार बिहान पराक्रम स्थानमा रहेको चन्द्रमा त्यसैदिन चतुर्थ भावमा प्रवेश गर्ने छ । त्यसैले साताको प्रारम्भमा केही घरायसी प्रयोजनका समस्यासँग जुध्दै अघि बढ्नु पर्ने परिस्थिति छ । आइतबार र सोमबार घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ । मिहिनेत र परिश्रम व्यर्थै खेर जान सक्छ । तर त्यसपछि साताको उत्तरार्द्धसम्म शुभ समय छ । बौद्धिक र लेखनकार्यमा सफलता प्राप्त हुने योग छ । मनोरञ्जनका लागि राम्रै समय छ । साताको अन्त्यमा छैटौं भावमा चन्द्रमा पुग्नाले पुनः सहयोगी हातहरू पछि हट्न सक्छन् । गरिएका उद्यममा सफलता प्राप्त हुनेछैन । शत्रुले छवि बिगार्ने प्रयास गर्नेछन् । जीवनसाथीसितको सम्बन्धमा नकारात्मकता देखिनसक्छ । सवारी साधनबाटसमेत हानि पुग्नसक्छ ।

बृष राशिकाे लागि साप्ताहिक फलादेश

आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुधनबाट लाभ लिन सकिने छ, त्यस्तै बन्दव्यापारमा समेत प्रशस्त फाइदा हुने योग छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन होला । व्यवसायिक क्षेत्र सफल रहने छ, आम्दानीमा कमी आउने छैन । दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अर्थलाभका अवसर आउने छन् । राजनैतिक चासो पनि बढ्नेछ । तीर्थव्रत तथा देवालयको भ्रमण हुन सक्छ । तर मङ्गलबार र बुधबारका दिन परिवारमा मतभेद हुने समय छ । तर पुनः साताको अन्त्यमा समय उत्साहवर्द्धक रहने छ । अध्ययन अध्यापन सफल रहेको छ । सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ ।

मिथुन राशिकाे लागि साप्ताहिक फलादेश

आफ्नै राशिमा रहेको चन्द्रमाका साथमा साताको प्रारम्भ भएकाले यो साता तपाईंका लागि उपलब्धीपूर्ण रहने संकेत छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । परिवारमा ठूलो जमघट वा धार्मिक सामाजिक कार्य सम्पन्न हुनेछ । विशिष्ट व्यक्तिले विचारको कदर गर्नेछन्, महत्वपूर्ण कार्य सम्पन्न हुने मौका छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । दार्शनिक र आध्यात्मिक विषयवस्तुप्रति आकर्षित हुनुहुनेछ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुनेछ । व्यावहारिक र सामाजिक जिम्मेबारी थपिनेछ । तर साताको अन्त्यमा मनमा दोधारको अवस्था हुनसक्छ । आफूले ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ ।

कर्कट राशिकाे लागि साप्ताहिक फलादेश

आइतबार अपराह्नसम्म खर्चभावमा चन्द्रमा रहने छ, फजुलखर्चमाथि नियन्त्रण गर्नु राम्रो हुन्छ । त्यसपछि आफ्नै राशिमा चन्द्रमाको आगमन हुने हुँदा राम्रो समय छ । आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ, यस अवधिमा सुरु गरिएको क्रियाकलापले दीर्घकालिक फाइदा पुग्नेछ । आर्थिक क्षेत्र सबल रहने छ । बन्दव्यापारबाट राम्रो फाइदा लिन सकिन्छ । भौतिक साधनको जोहो हुनाका साथै मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्ने छ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । मातापिता र अभिभावक वर्गसँगको सम्बन्धमा सुधार आउने छ । ढिलै भए पनि तपार्इंले भने जसरी नै काम सम्पन्न हुनेछ । स्वास्थ्यमा सकारात्मक सङ्केत देखिने छ । जिम्मेबारी वहन गर्नु पर्नेछ, उत्साहपूर्वक काम गर्नुहोला ।

सिंह राशिकाे लागि साप्ताहिक फलादेश

साताको प्रारम्भमा सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । तर आइतबार र सोमबार बाह्रौं भावमा चन्द्रमाको उपस्थिति हुने भएकाले आर्थिक क्रियाकलापमा सचेत हुनु जाति हुन्छ । तर मङ्गलबारपछि साताको अन्त्यसम्म राम्रो समय छ, नयाँ योजना कार्यान्वयन गर्ने र दीर्घकालीन योजना बनाउने समय हो । वैदेशिक यात्रा गर्ने योजनामा हुनुहुन्छ भने प्रयास गर्न अनुकूल हुनेछ । कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने समय छ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा लाभ प्राप्त हुनेछ । कार्य सफल हुँदै जानेछ । रमाइलो यात्रा हुन सक्छ । पुराना साथीभाइसित भेटघाट हुनसक्छ ।

कन्या राशिकाे लागि साप्ताहिक फलादेश

कर्मप्रति वफादार रही काम गरेमा उचित प्रतिफल प्राप्त हुने समय छ । साताको प्रारम्भमा नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । तपाईंका सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । आर्थिक रूपमा सबल हुनुहुनेछ, कारोबारमा गतिशीलता आउने छ र व्यवसायबाट लाभ हुनेछ । मायाप्रेमका लागि समय जुट्ने छ । पठनपाठनमा प्रगति हुनेछ । तर मङ्गलबार र बुधबार अनुकूल दिन हुने छैनन् । यात्रा घातक बन्नसक्छ । आम्दानीका मार्ग अवरुद्ध हुनेछन् । पुनः साताको अन्त्यमा मन उत्ताउलो र अधैर्य बन्नसक्छ, संयम हुनु राम्रो हुन्छ । चिन्तनमनन र अध्यात्मप्रति आकर्षित हुँदा राम्रो हुनेछ ।

तुला राशिकाे लागि साप्ताहिक फलादेश

भाग्यस्थानको चन्द्रमाका साथमा साताको प्रारम्भ भएको छ, सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । प्राविधिक काममा विशेष सफलता प्राप्त हुने छ साथै आत्मसन्तुष्टि प्राप्त हुनेछ । मातापिता र अभिभावकवर्गको आशीर्वादले काम गर्न सक्छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा कम र व्यापारमा प्रशस्त फाइदा हुने योग छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन होला । पढाइमा प्रगति हुनेछ । यो समय विशेष महत्वको समय हुनेछ । तर शुक्रबारपछि अनुकूल समय रहने छैन, सोचेअनुसार लाभ हुनेछैन, धनसङ्ग्रहका क्षेत्रमा बाधा छ ।

बृश्चिक राशिकाे लागि साप्ताहिक फलादेश

आइतबार बिहान कष्टभावमा चन्द्रमा रहेकाले उक्त दिन सचेतता अपनाउन सके साता उपलब्धीपूर्ण र परिणादायी नै रहने छ । सोमबारपछि सुखसुविधा र मनोरञ्जनमा भुलिने समय छ । धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नु पर्ने समय पनि हो, जसबाट प्रशंसा र शुभ कुराको सङ्केत प्राप्त हुनेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने राम्रो हुन्छ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । साथीहरूसित मनोरञ्जन गर्ने अवसर जुर्नेछ । बौद्धिक प्राज्ञिक गतिविधिमा संलग्न हुनेपर्ने छ । समग्रमा यो साता आफ्नो काममा तल्लीन हुनुपर्ने भएकाले समय बितेको पत्तो पाउनु हुन्न, तर श्रमिक, पशुपालक र कृषकले अलि बढी थाकेको अनुभूति गर्नेछन् ।

धनु राशिकाे लागि साप्ताहिक फलादेश

आइतबारको दिन मनोरञ्जनपूर्ण समय रहनेछ । तर सोमबार र मङ्गलबार निकै सचेत र सतर्क रहनु आवश्यक छ । दिमागमा भ्रम र शङ्काको भूत जाग्ने छ । झैझगडा र मुद्दामामिलाभन्दा टाढै बस्नु उचित हुनेछ । बुधबारपछि साताको अन्त्यसम्म पुनः अनुकूल समय रहने छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ । साथीभाइसित भेटघाट हुनुका साथै मनोरञ्जनात्मक काममा संलग्न भइने छ । दाजुभाइ र दिदीबहिनीले दिएको सुझावलाई पालना गर्दा लाभ प्राप्त हुनसक्छ । व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुने योग छैन । आम्दानीमा कमी आउने छैन । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने छ । विगतमा गरिएको श्रमको समुचित मूल्याङ्कन हुनेछ । साताको उत्तरार्द्ध धैर्यधारण गरी परिश्रम गर्ने समय हो ।

मकर राशिकाे लागि साप्ताहिक फलादेश

साताको प्रारम्भमा तर्क, बहस र छलफलमा दिन बिताउनु पर्नेछ । प्रतिस्पर्धी र शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती र अपठ्याराको सामना गर्नुपर्छ । यद्यपि यो साता हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा समय बित्नेछ । घरपरिवारका सदस्य र साथीभाइसँग मतभिन्नता भएपनि अन्त्यमा उनीहरू सकारात्मक देखिने छन् । जीवनसाथी वा आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । तर मङ्गलबार र बुधबार राम्रो समय छैन, खानपानमा नियन्त्रण गर्नु बेस हुनेछ, स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ । साताको अन्त्यमा धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । रोकिएको काम बनेको समाचार सुन्न पाउने सम्भावना समेत छ । आफन्त वा साथीभाइले निस्वार्थ भावले सहयोग गर्नेछन् । नयाँ ज्ञान प्राप्त हुनेछ ।

कुम्भ राशिकाे लागि साप्ताहिक फलादेश

सुरुमा सन्तति पक्ष र भाइबहिनीले खुसीको वातावरण सिर्जना गर्नेछन् । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । तर आइतबार अपराह्नपछि सोमबार बेलुकीसम्म सहयोगी हातहरू पछि हट्न सक्छन् । मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । मनोरञ्जनात्मक क्रियाकलापबाट हानि पुग्ने सम्भावना छ । तर मङ्गलबारपछि मनोरञ्जक र विलासी समय रहने छ, प्रणयसम्बन्ध र रतिरागका लागि उचित समय छ । आनन्द र रमणीयताका लागि समय र धन खर्च हुन सक्छ । साताको अन्त्यमा अष्टम भावमा चन्द्रमा रहने हुँदा सतर्कता अपनाउनु राम्रो हुन्छ । अनावश्यक यात्रा तथा गुप्त र मानसिक रोगले सताउन सक्छ । किसिमकिसिमका समस्यासित जुध्नु पर्ने परिस्थिति छ । लेनदेनमा विवाद हुनेछ ।

मीन राशिकाे लागि साप्ताहिक फलादेश

प्रारम्भमा घरायसी प्रयोजनका खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ । शरीरमा आलस्य जाग्नेछ । काम गर्न जाँगर लाग्दैन । यद्यपि आइतबार बेलुकीदेखि सन्ततिपक्षबाट खुसीको समाचार प्राप्त हुने छ । आफन्तले प्रशंसा गर्नेछन् । मन प्रफुल्ल र उत्साही बन्ने छ । घरपरिवारमा रमाइलो जमघट हुने छ । गर्न लागेको काममा सबैले साथ दिनेछन् । मङ्गलबार र बुधबार पुनः प्रतिकूल समय छ । आर्थिक समस्याले सङ्कट उत्पन्न हुनसक्छ । बिहीबार पछि साताको अन्त्यसम्म राम्रो समय छ, प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । शुभसमाचारको आगमनले मन प्रसन्न रहने छ । शत्रुहरू पराजित हुनेछन् । यश, सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । मन भोगविलासतर्फ आकर्षित हुने छ ।

-सहप्राध्यापक कृष्णप्रसाद कोइरालाले लेख्नुभएकाे राशिफल ज्याेतिष साथीबाट