

काठमाडौं । सरकारले संसद्मा विचाराधिन नागरिकता विधेयक आज औपचारिक रुपमा फिर्ता लिने भएको छ । आज बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठकमा नागरिकता विधेयक फिर्ता लिने तयारी सरकारले गरेको हो । हिजो बसेको मन्त्रिपरिषद् बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको थियो ।
केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले २०७५ साउन २२ मा प्रतिनिधिसभामा नागरिकता विधेयक दर्ता गरेको थियो । विधेयकमाथि प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले झन्डै २ वर्ष दफावार छलफल गरेर प्रतिवेदन प्रतिनिधिसभामा पेस गरेको थियो । प्रतिवेदन प्रतिनिधिसभामा विचाराधीन रहेको अवस्थामा सरकारले विधेयक नै फिर्ता लिने निर्णय गरेको वन तथा वातावरण मन्त्री प्रदिप यादवले जानकारी दिए ।
उनकाअनुसार आज विधेयक फिर्ता लिने र नयाँ नागरिकता विधेयक दर्ता गर्ने सरकारको तयारी छ । संसदमा पेश भइसकेपछि मन्त्रिपरिषदले निर्णय गरेर मात्रै विधेयक फिर्ता लिन सक्ने व्यवस्था छ । सरकारले छिटोभन्दा छिटो विधेयकमाथि पर्याप्त छलफल गरी संसदबाट पारित गर्नुपर्ने समयमा उल्टै फिर्ता लिने निर्णय गरेको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले भने आपत्ति जनाएको छ ।
आजको प्रतिनिधि सभाको बैठकले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक र कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक पारित गर्ने कार्यसूची रहेको ससद् सचिवालयले जनाएको छ ।