प्रदर्शनपछि दक्षिण अफ्रिकी नेता घर फर्कँदै

प्रदर्शनपछि दक्षिण अफ्रिकी नेता घर फर्कँदै

दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामापोसाले देशमा भइरहेका हिंसात्मक प्रदर्शनहरू नियन्त्रण गर्ने प्रयासका लागि ब्रिटेनमा जारी कमलवेल्थ राष्ट्रहरूको शिखर सम्मेलनमा आफ्नो उपस्थिति छोट्याएका छन्। दक्षिण अफ्रिकाको उत्तर पश्चिम प्रान्तमा रोजगारी, आवास र भ्रष्टाचारको अन्त्य माग गर्दै झडपहरू भइरहेका छन्। गएको फेब्रअरीमा पद सम्हालेका रामापोसाले ब्रिटेनमा रहँदा दक्षिण अफ्रिकामा लगानी गर्न अनुरोध गरेका थिए।

तर देशको उत्तर पश्चिम क्षेत्रमा रामापोसाकै सत्तारूढ दल अफ्रिकी न्याश्नल कंग्रेसका नेता एवं प्रान्तीय सरकार प्रमुखको राजीनामा माग गर्दै बुधवार यता प्रदर्शनहरू भइरहेका छन्। शुक्रवार रामापोसाले उक्त प्रान्तको राजधानी माहीकेङमा अफ्रिकी न्याश्नल कंग्रेसका नेताहरूसँग भेटवार्ता गर्नेछन्। पछिल्ला हिंसात्मक प्रदर्शनहरूको केन्द्रमा रहेको उक्त स्थानमा लुटपाट र प्रहरी एवं प्रदर्शनकारीबिच झडपपछि बिहीवार सुनसान बनेका विवरणहरू आएका थिए।

रामापोसाले धैर्यता देखाउन र प्रहरीलाई संयम अपनाउन आदेश दिएका छन्। दक्षिण अफ्रिकाका सञ्चारमाध्यमका अनुसार प्रहरीले सवारी साधानमाथि आगजनी र ढुङ्गामुढा गर्ने र टायर बालेर सडक अवरूद्ध पार्ने प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्यासको प्रयोग गरेको थियो।

बुधवारयता नौ जनालाई पक्राउ गरिएको दक्षिण अफ्रिकाको टाइम्सलाइभ सञ्चारमाध्यमले जनाएको छ। हिंसात्मक प्रदर्शनहरूपछि छिमेकी बोत्स्वानाले उत्तर पश्चिम प्रान्तसँगको सीमा बन्द गरेको छ।

पूर्वराष्ट्रपति जेकब जुमाबाट सत्ता लिएयता देशको कमजोर अर्थतन्त्र उकास्ने विषय रामापोसाको प्राथमिकतामा रहँदै आएको छ। जुमाको सरकारले वर्षौँदेखि भ्रष्टाचारको आरोपहरू खेपिरहेको छ र दक्षिण अफ्रिकामा आर्थिक वृद्धिदर कमजोर र बेरोजगारीको दर उच्च रहेको छ।

लण्डनमा रहँदा ब्लुमबर्गलाई दिएको अन्तर्वार्तामा रामापोसाले देशको अर्थतन्त्र उकास्न १ खर्ब डलरको लगानी खोजिरहेको बताएका थिए। उनले आफ्नो सरकार भ्रष्टाचार नियन्त्रणका लागि प्रतिबद्ध रहेको पनि बताउने गरेका छन्। -यो खबर बिबिसिबाट लिएका हौँ ।