शान्तिपूर्ण रूपमा मनोनयन सम्पन्न कांग्रेसको पक्षमा देशव्यापी माहोल

शान्तिपूर्ण रूपमा मनोनयन सम्पन्न कांग्रेसको पक्षमा देशव्यापी माहोल

प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन दर्ता अत्यन्तै शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । केही स्थानमा दर्ताको क्रम जारी रहेको भए पनि अधिकांश स्थानमा भने उम्मेदवारी दर्ताको काम सम्पन्न भइसकेको छ ।

यसअघिका निर्वाचनभन्दा यसपटकको निर्वाचन फरक देखिएको छ । नेपालमा कम्युनिष्ट अधिनायकवाद भित्र्याउने हेतुले नेपालका प्रमुख वाम पार्टीहरू एक भएर निर्वाचनमा गएका छन् भने नेपाली कांग्रेसले लगभग एक्लै ती दलको गठबन्धनसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । लोकतन्त्रवादी केही साना पार्टीहरूले कांग्रेसलाई केही स्थानमा साथ दिए पनि अधिकांश स्थानमा कांग्रेस एक्लैले माओवादी–एमाले गठबन्धनको सामना गर्दै छ ।

स्थानीय तह निर्वाचनको तेस्रो चरणपछि अत्तालिएर एमाले तथा माओवादी पार्टी ‘वाम गठबन्धन’ बनाउने दिशामा अघि बढे । दुई दलले सत्तास्वार्थ केन्द्रित गठबन्धन गरेको भन्दै ती पार्टीका कार्यकर्ताहरू सम्बन्धित पार्टी परित्याग गरी दिनानुदिन कांग्रेसमा प्रवेश गरेका छन् । ती पार्टीहरूबाट कांग्रेस प्रवेश गर्नेहरूको लहरले वाम एकताप्रति ती दलका कार्यकर्तामा देखिएको असन्तुष्टिलाई छर्लंग्याएको छ ।

एमाले र माओवादीले वामगठबन्धनको घोषणा गरेपछि नेपाली कांग्रेसले पनि गरेको लोकतान्त्रिक गठबन्धन निर्माणको गृहकार्य सुरु गर्यो । गठबन्धन बनाउने मात्र होइन, लोकतन्त्रमा विश्वास गर्ने जोसुकैलाई कांग्रेसले विनापूर्वाग्रह आफ्नो पार्टीमा स्वागत गरेसँगै नेपाली कांग्रेसमा प्रवेश गर्नेको लहरै चलेको छ ।

त्यो लहरमा राप्रपा, राजपा मात्र होइन, एमाले तथा माओवादीका कार्यकर्ता पनि ठूलो संख्यामा समाहित भइरहेका छन् । कोही व्यक्तिगत रूपमा प्रवेश गरेका छन् भने कोही ठूलो दलबलका साथ नेपाली कांग्रेसमा लागेका छन् । विभिन्न पार्टीमा महत्वपूर्ण जिम्मेवारी लिएर बसेका उनीहरूको निःशर्त कांग्रेस प्रवेशले देशव्यापी रूपमा लोकतन्त्रप्रतिको आस्थालाई पुष्टि गरेको छ ।

विजय गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिक पार्टी, राष्ट्रिय अखण्ड पार्टी र राष्ट्रिय समता पार्टीलगायतका दलहरू नेपाली कांग्रेसमा समाहित भइसकेका छन् । राजपाका सहमहामन्त्री दिलीप धारेवाल दशँैलगत्तै नेपाली कांग्रेसमा प्रवेश गरे । तिहारपछि राजपाका महामन्त्री जंगीलाल राय नेपाली कांग्रेसमा प्रवेश गरे । उनीसँगै नागेन्द्रप्रसाद राय, गोपाल पंजियार, श्याम साह, रामप्रताप रायलगायतका नेताहरू कांग्रेसमा प्रवेश गरे । राप्रपाका सीताराम सिंह र सयौँ कार्यकर्ता पनि नेपाली कांग्रेसमा प्रवेश गरिसकेका छन् । राजपाकी महिला नेतृ सुभद्रा महतोलगायतका नेता–कार्यकर्ता पनि केही दिनअघि कांग्रेसमा प्रवेश गरेका छन् ।

वामपन्थी दलहरूले सत्तास्वार्थका कारण गठबन्धन बनाएपछि त्यसबाट असन्तुष्ट बनेका उनीहरूका लाखौँ कार्यकर्ताको कांग्रेस प्रवेशले नेपाली कांग्रेसलाई थप मजबुत बनाउँदै लगेको छ । पहिलो चरणमा मंसिर १० गते हुने निर्वाचनका लागि वामगठबन्धनका उम्मेदवारविरुद्ध धेरै स्थानमा वागी उम्मेदवारी परेको थियो । मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि त्यो क्रम अझै बढेर गएको छ । वामगठबन्धनका उम्मेदवारविरुद्ध परेको वागी उम्मेदवारी हेर्दा नेपाली कांग्रेसले सोचेभन्दा राम्रो परिणाम प्राप्त गर्ने आँकलन गर्न थालिएको छ ।

वामगठबन्धनका हस्ती मानिएका माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई चितवनबाट निर्वाचन जित्न मुस्किल देखिन्छ । स्थानीय निर्वाचनको परिणामलाई हेर्दा दाहाल उठेको क्षेत्रमा सबैभन्दा बलियो पार्टी नेपाली कांग्रेस नै देखिन्छ । कांग्रेसपछि राप्रपा र एमाले दोस्रो तथा तेस्रो स्थानमा छन् । दाहालको पार्टी माओवादीको सो क्षेत्रमा हैसियत ‘चौथो’ हो । कांग्रेसले राप्रपाका उम्मेदवार विक्रम पाण्डेलाई समर्थन गरेपछि सो स्थानमा पाण्डेको विजय सुनिश्चितजस्तै छ । आफूले १५ हजारभन्दा बढी मतले निर्वाचन जित्ने विक्रमको दाबी छ ।

एमाले अध्यक्ष केपी ओलीले पनि निर्वाचन जित्नेमा आशंका गरिएको छ । पहिला कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा ओलीको विरुद्धमा लड्ने चर्चा थियो । त्यसकारण सो क्षेत्र छाडेर अर्कै क्षेत्रमा गए । अब ओलीले कांग्रेस उम्मेदवार डा. खगेन्द्र अधिकारीको सामना गर्नुपर्नेछ । त्रिचन्द्रमा प्राध्यापन गर्दै आएका अधिकारी झापाका बुद्धिजीवीमाझ अत्यन्तै लोकप्रिय मानिन्छन् । त्यति मात्र होइन, पहिलो संविधानसभा चुनावमा एमाले अध्यक्ष ओलीलाई हराएका विश्वदीप लिङ्देनको कांग्रेस प्रवेशले पनि ओलीको पराजयमा भूमिका खेल्ने देखिन्छ । उक्त चुनावमा लिङ्देनले १६ हजार ९९ मत पाएका थिए । उनीसँग पराजित भएका ओलीले १४ हजार ९ सय ५९ मत ल्याएका थिए ।

वामगठबन्धनका अन्य नेताहरूलाई पनि निर्वाचन जित्न त्यति सजिलो पक्कै छैन । माओवादी तथा एमालेमा देखिएको टिकट विवाद, स्थानीय तह निर्वाचन र त्यसअघिदेखि नै दुई पार्टीका नेता तथा कार्यकर्ताबीच देखिएको शत्रुतापूर्ण सम्बन्धका कारण पनि उनीहरू एकले अर्काेलाई स्वीकार गर्न सक्ने स्थिति देखिँदैन ।

यावत् विषयहरूलाई मध्यनजर गर्दा योपटकको निर्वाचनमा नेपाली कांग्रेसले बाहिर भनिएभन्दा निकै बढी स्थानका साथ विजय हासिल गर्न गर्न सक्ने देखिन्छ । लोकतन्त्रमा आस्था राख्ने जुनसुकै दलका कार्यकर्ताले लोकतन्त्रको रक्षाका लागि कांग्रेस नै एक मात्र विश्वासिलो पार्टी मानेका कारण पनि देशभर कांग्रेसको पक्षमा माहोल बढ्ने निश्चितप्रायः छ ।