काठमाडौं । जनता समाजवादी पार्टी नेपालले स्थानिय तहको निर्वाचनमा अन्तर्घात गरेको भन्दै प्रदेश सांसदसहित २ जनालाई निष्काशन गरेको छ । जिल्ला कार्यसम्पादन समिति महोत्तरीले प्रदेश सांसद कौशलकुमार यादव र संघीय शिक्षक फोरम महोत्तरीका अध्यक्ष कौशलकुमार यादवलाई साधारण सदस्यतसमेत नहुने गरी निष्काषन गरेको हो ।
‘गत ३० बैशाखको स्थानिय तहको निर्वाचनमा पार्टीका जिम्मेवार ब्यक्तिहरुले गरेको क्रियाकलाप माथी कार्यसम्पादन समितिको निर्णयबाट पार्टीको अन्तरिम बिधान–२०७७ को परिच्छेद–३ सदस्यता सम्बन्धि व्यवस्था धारा १० को बुदाँ २ र परिच्छेद–८ को अनुशासनको कार्वाहीको धारा ४९ को बुदाँ १, २, ३, र ६ आकृष्ट भएको हुँदा आजैको मितिबाट साधारण सदस्यताबाट समेत निष्काशन गरेको व्यहोरा जानकारीका साथ अनुरोध छ’ जिल्ला अध्यक्ष रामप्रकाश यादवले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ।
महोत्तरी–४ (क)बाट प्रदेश सांसद रहेका यादवले स्थानिय तहको निर्वाचनमा आफनै पार्टीका उम्मेदवारहरुलाई हराउन लागेको तथा बिपक्षी दलका नेताहरुलाई सहयोग गरेको आरोप लाग्दै आएको बेला उनलाई निष्कासन गरेको हो । स्थानिय तह निर्वाचनमा अन्तर्घात गरेको भनेर निष्कासनमा पर्ने यादव पहिलो र एक्ला सांसद हुन् ।