रवि लामिछानेको पार्टीको नाम विरुद्ध निर्वाचन आयोगमा उजुरी

रवि लामिछानेको पार्टीको नाम विरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं, ७ असार।‘स्वतन्त्र उम्मेदवारी अभियानले रवि लामिछानले आफ्नो नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी दल दर्ता गर्न खोजेको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै निर्वाचन आयोगमा उजुरी दिएको छ ।

अभियानका तर्फबाट संयोजक डम्बर शाहुले बुधबार आयोगमा दिएको उजुरीमा रविले आफ्नो पार्टीको नाममा स्वतन्त्र शब्द राखेसँगै स्थानीय तहमा देशैभरि स्वतन्त्र उम्मेदवार दिएका र आसन्न प्रदेश तथा संघीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका वा स्वतन्त्र उम्मेदवारीको तयारी गरेका वास्तविक स्वतन्त्र व्यक्ति समूह/संस्थालाई गम्भीर आघात पुगेको उल्लेख छ ।

लामिछानेको पार्टीको नामबाट स्वतन्त्र शब्द हटाउन आग्रह गर्दै दिएको उजुरीमा उल्लेख छ, ‘परम्परागत राजनैतिक पार्टी र म्याद गुज्रिएका नेतृत्वको विकल्पका रुपमा नयाँ र भिजनसहितका युवाहरू राजनीतिमा आउनु स्वागतयोग्य रहे पनि पनि धमिलो पानीमा माछा मार्ने कटु अवसरवादीहरूले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को नाममा निर्वाचन आयोगमा पार्टी दर्ताको लागि दिएको निवेदनमा ‘स्वतन्त्र’ शब्द हटाई अन्य अन्य शब्दको प्रयोग गर्न अनुरोध गर्दछु ।’

लामिछानेको पार्टीलाई स्वतन्त्र उम्मेदवार अभियान, अभियान्ता र देशैभरिमा स्थानीय, प्रदेश र संघीय तहमा स्वतन्त्र उम्मेदवार दिने कुनै पनि स्वतन्त्र उम्मेदवारहरूको समर्थन–सहकार्य नरहेकोसमेत उजुरीमा उल्लेख छ ।