

काठमाडौं, ५ असार।प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा अनुपस्थित भएका छन् ।प्रधानमन्त्री कार्यालयले आउन नभ्याउने भनी जानकारी गराएको समिति सभापति पवित्रा निरौला खरेलले जानकारी गराइन् । उनका अनुसार प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री आउन नसक्ने जानकारी गराएका हुन् ।
आज बिहानभर प्रधानमन्त्रीलाई समितिमा उपस्थित गराउन आफूले धेरैलाई फोन गरेको जानकारी दिएकी उनले शनिबार बेलुकासम्म आउने कुरा गरेको, तर उपस्थित गराउन नसकेको बताइन् ।
प्रधानमन्त्रीले निकट भविष्यमा गर्ने अमेरिकाको भ्रमण, नेपालको परराष्ट्र नीति कार्यान्वयन, अमेरिकाबाट प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लगायतका विषयमा छलफल गर्न समितिले रक्षामन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवालाई आजको बैठकमा बोलाएको थियो ।