-बिमन लिम्बु-
काठमाडौं । नयाँ वर्षसगै पर्यटकीय गन्तव्यहरुमा भ्रमण गर्ने र परिवार तथा साथीभाइबीच रमाइलो गर्नेहरुको संख्या बढेको छ । यसले मुलुकको आन्तरिक पर्यटन वृद्धिमा टेवा पुगेको छ ।
विगतका वर्षझैं यो वर्ष पनि प्रमुख पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकको चाप बढेको छ । पर्यटकीय गन्तव्यका होटल शतप्रतिशत पूर्ण रहेका छन् । पर्यटनका लागि वसन्त ऋतु उपयुक्त मानिन्छ । यसबाट प्रष्टै छ नयाँ वर्षको रौनकतासंगै पर्यटकको चहलपहल बाक्लिएको हो ।
काठमाडौं आसपासका पर्यटकीय क्षेत्रमा यतिखेर आन्तरिक तथा विदेशी पर्यटकको भीड लागेको छ । काठमाडौँ नजिकका गन्तव्य नगरकोट, धुलिखेल, चितवन, पोखरालगायत पर्यटकीय क्षेत्रमा अहिले पर्यटक खचाखच भरिएका छन् ।
यस वर्ष पर्यटन आगमन ११ प्रतिशतले बढेको तथ्यांक आएको छ । नेपालमा बन्द हडताल हुन छाडेपछि पर्यटन व्यवसायीहरु उत्साहित छन् । काठमाडौका सडकमा उडेको धुलोले बिहान घरबाट हिडेको मान्छे बेलुका नचिनिने भएर फर्किन्छ । सडक भरी खाल्डै खाल्डा छन् । जताततै तारहरु जेलिएका र लत्रेका छन् ।
पर्याप्त सूचना केन्द्रहरू, सार्वजनिक सफा र पर्यटक स्तरिय शौचालयहरु भरपर्दो र नठगिने ट्याक्सी तथा सार्वजनिक सवारी साधन जस्ता पर्यटकीय पुर्वाधार भएमा र पर्यटकहरुलाई सताउने गुणस्तरहीन दर्ता नभएका फुटपाथे पसल, मगन्ते, खाते र भुस्या कुकुरहरुलाई नियन्त्रण गरिएमा थप पर्यटक नेपालमा आउछन् । पर्यटनको विकास बिना आर्थिक सम्बृद्धि सम्भव छैन ।