किशोर सरको सोच अझै “किशोरावस्था” मै

किशोर सरको सोच अझै “किशोरावस्था” मै

 – दिवाकर बागचन्द-

किशोर नेपालको केहि दिन अघि प्रकाशित लेखले अमेरिकाको नेपाली डायस्पोराको चित्त दुखाएको थियो जुन स्वाभाविक हो। किशोर सर अमेरिका आउनुहुन्छ नेपालीहरूले निमन्त्रणा गरेको ठाउँमा गएर खानु हुन्छ, पिउनु हुन्छ अनि केहि समयपछि उनीहरुलाई नै गालि गरेर, उनीहरुलाई नै हेपेर लेख लेख्नु हुन्छ। उहाँको लेखमा कतिपय कुराले त हाँसो पनि उठायो।

अमेरिकामा काम गर्ने नेपालीले “समयमा खाना खुवाउन सक्दैनन् रे “, नेपालीहरूको समस्या बुझेर सदभावना देखाउनु त कता हो कता, सित्तैमा खाना पाउनु नि छ, अझै तेसमा पनि गुनासो। कति जना हरूसंग क्रस परयों भन्ने किसिमको कुरा निकाल्नु भयो ,यो बाट मलाई के लाग्यो भने किशोरसरको त्यो लेखमाथि रिसाउनु भन्दा पनि उहाँको बढ्दो उमेरले उहालाई “सद्दे” तरिकाले सोच्न नदेको होला। हुन त ६० वर्ष कटे पछि हाम्रो तराईको भाषामा “सठियाउनु” भन्छन, त्यहि हुन सक्छ, जसमा मान्छेलाई बिर्सने(डिमेंसिया रोग), धेरै नेगेटिव सोच्ने, राम्रै कुरालाई पनि नराम्रो ठान्ने, धेरै गुनासो गर्ने, कचकच गर्ने, केटाकेटी जस्तो व्यहोरा देखाउने इत्यादि बानीहरू हुन्छन। त्यसैले होला किशोर सरलाई आफ्नो साठी वर्षको उमेरमा पनि “किशोरावस्था” को जस्तो बनि फर्केको होला। “क्रश” को कुरा गर्नु हुन्छ, खाना समयमा पाएन भनेर कचकच गर्नु हुन्छ, आफु यति लामो समय पत्रकारिता गरेर पनि , नाम कमाएर पनि अमेरिका बस्ने नेपालीले लेख लेखे भनेर इर्ष्या गर्नु हुन्छ , उफ्फ़। किशोर सर्को नाम चाहिँ उहाँको जीवन संग सार्थक मेल खान्छ, “किशोर” अरे। अचेल किशोर उमेरकै केटाकेटीले गर्ने जस्तो कुरा गर्न थाल्नु भयो। देशको अवस्था दिन-प्रतिदिन घायल भएको कुरा स्विकार्नु हुन्छ किशोर सर तर यो कन्याई प्रवासी नेपालीले गर्न न हुने रे सरको विचारमा। देशको बारेमा चाँसो लिनका लागि, देशको बारेमा जानकारी र चिन्ता लिनको लागि अमेरिका बस्ने नेपालीले या त स्टोरमा काम गर्नु भएन, र लेख त लेख्नै भएन, त्यो त महापाप रैछ। सरको लेखबाट साभार, ” अमेरिकामा बसेर राष्ट्र र राष्ट्रियताको विकासका लागि आफूले गरेको योगदानको अनुसूची बनाउँछन् “, यो सुन्दा कताकता हाँसो उठ्यो।

यदि योगदान गरेका छन् भने सर देश निर्माणमा यस्ता प्रवासी हरेक नेपालीले फेसबुकको टायमलायन यस्तो अनुसूची बनोस् भनेर पाको मान्छे र सिनियर “इन्टेलेकचुवल ” को हैसियेतले यसलाई झन् प्रोहत्साहन दिनु पर्ने हो तर कहाँ एउटा सेल्फ-अबसेस्ड मान्छेबाट यस्तो आशा राख्नु। लोकप्रिय पत्रकार विजयकुमार पाण्डेले साहित्य, रचना र क्रियटिभिटीलाई उचाइमा पुर्याउनु भएको छ। रबिन्द्र मिश्रबाट केहि सिक्नुस सर। उहाँले पत्रकारितामा एउटा नयाँ “आविष्कार” नै गर्नु भयो, “परोपकारी पत्रकारिता ” भनेर, खाडीमा रहेर खुन पसिनाको कमाइ गरेका नेपालीहरूमा विकासको आशा जगाएर, मन जितेर ,मातृभूमिलाई सहयोग गर्नलाई अभिप्रेरित गर्नु हुन्छ, विकासका गतिबिधिहरू अघि बढाउनु हुन्छ। रबिन्द्र सरले एक किसिमले समानान्तर सरकारनै नेपालमा चलाउनु हुन्छ ,आफ्नो लोकप्रियता र “क्रियाटिभीटि” लाई देशको कल्याणमा खर्च गर्नु हुदैछ। अर्को तिर तपाई हुनुहुन्छ। आफ्नो सिर्जनशिलता र ज्ञानलाई नेपालीहरुलाई गालि गर्न र होच्याउन प्रयोग गर्नु हुन्छ। कुनै फिल्डमा धेरै समय बिताए पछि, जति गर्न खोजेपनि नया पुस्ताले “रिप्लेस” गर्छन, पुराना “फेज आउट” हुन्छन, पत्रकारितामा पनि त्यहि हो।

त्यसैले करियरको पीकमा पुगेका धेरै मान्छेले आफ्नो “फिल्ड” परिवर्तन गर्छन, खेलाडीहरूले सन्यास लिन्छन। किशोर सरले किशोरावस्थामा हुने “क्रस”लाई अर्कोले लग्दिन्छ र “हार्ट-ब्रेक” होला भनेर अंग्रेजीमा भनिने जस्तै “इन्सेक्योर” र “जेलस” महसूस गर्नु आवश्यक छैन। सायद एउटा पत्रकारभन्दा माथि तपाइले सोच्न सक्नु भएन। यस्तो उचाइमा भएको पत्रकारबाट यस्तो संकीर्ण र गैरजिम्मेवार सार्बजनिक अभिव्यक्ति दुखद हो। नेपालीहरूलाई जोड्दै हिड्नुस, फ़ुटाउदै होइन। उनीहरूको विचारलाई अभिनन्दन गर्नुस, निन्दा होइन। आफ्नै दुश्मन नबन्नुस सर, यो उमेर त अरुले अब सल्लाह माग्न आउने उमेर हो, अर्ति-उपदेश दिने उमेर बनाउनुस्। निन्दा र चरित्र-हत्याको पत्रकारिता र राजनीति गर्न छोड्नुस। तपाइको उमेर र अस्तिको लेख लेख्नु अघिको उचाईलाई सुहाउने कुरा होइन। एउटा सुझाव छ, बरु सके एउटा ” थेरापिस्ट ” हायेर गर्नुस्। तपाइको मानसिक स्वास्थ्यका लागि राम्रो होला।

दुई-चार जनाले लेख लेख्दैमा उनीहरू “बौद्धिक” भैहाल्ने र उनीहरु बौद्धिक भैदिए आफुलाई कसैले बौद्धिक न भन्देलान कि भनेर आत्तिहाल्नु पर्दैन सर। यो सबैमा तपाईको दोष पनि छैन, ६० वर्ष कटेपछि फेरि तपाई किशोरावस्थामै फर्किनु भएछ भनेर हामी प्रवासी नेपालीहरू तपाईलाई माफ गर्दिने छौं। तपाइको यो बढ्दो उमेर र “करियर फेज-आउट”संग आउंदै गरेका समस्या, चिन्ता र मानसिक कमजोरीसँग लड्नलाई हामी प्रवासमा बस्ने नेपालीको समवेदना ,आशिर्वाद र शुभकामना तपाइको साथमा छ।