मेष राशिकाे वार्षिक फलादेश
मेष राशि हुनेहरूका निमित्त यस वर्षको पूर्वार्द्ध शुभकारक र उत्तरार्द्ध निराशाजनक रहने छ । असोजसम्म पठनपाठन, शैक्षिक क्षेत्र, व्यापार, साझेदारी र सामूहिक कामबाट लाभ मिल्नेछ । पारिवारिक समस्याहरू समाधान हुने छन् । सम्पत्तिसम्बद्ध मुद्दामामिलामा सफलता मिल्नेछ । सन्तान पक्षबाट शुभ समाचार मिल्नेछ । पारिवारिक यात्राको सम्भावना छ । तर कार्तिकपछि मानसिक चिन्ताले सताउने छ । मनमा के गर्ने र के नगर्ने भन्ने दुविधाको सिर्जना भइरहन्छ । सरकारी कर्मचारीहरूको कार्यभारमा वृद्धि हुनेछ । व्यापारीहरूको कारोबारमा बाधा उत्पन्न हुनेछ । यद्यपि कारोबारको सुसञ्चालनमा कमी देखिने छैन । मातापिताको स्वास्थ्यमा समस्या आउन सक्छ । विद्यार्थीहरूले कडा परिश्रम गर्नुपर्नेछ । नारीहरूले संयमित व्यवहार देखाउन सकेमा मात्र घरको वातावरण सुखमय बन्नेछ । यस वर्षको जेठ, कार्तिक र चैत्र महिना कष्टदायक रहने छन् ।
वृष राशिकाे वार्षिक फलादेश
वृष राशि हुनेहरूको अष्टम भावमा यस वर्ष शनिको उपस्थिति रहनेछ । त्यसैले यिनीहरूले आकस्मिक रूपमा घर र परिवारमा विविध समस्याको सामना गर्नुपर्ने हुन्छ । दैनिकीमा कार्यबोझ बढ्ने छ । आँखा र टाउको सम्बन्धी रोगव्याधि देखिन सक्छ । व्यापारीहरूले प्रतिस्पर्धा गर्नुपर्छ र आर्थिक क्षेत्रमा मन्दीको सामना गर्नुपर्नेछ । बैंक, वित्तीय क्षेत्र, सेयरबजार, सट्टापट्टामा फाइदा हुने छैन । सवारीसाधनमा यात्रा गर्दा वा वाहन चलाउँदा सचेतता अपनाउनु पर्छ, दुर्घटनाको भय छ । सम्पत्ति अपचलनको सम्भावना छ । पतिपत्नीबीचमा ठास्सठुस्स बढ्ने छ । तर वर्षको उत्तरार्द्धमा केही राम्रा परिणाम प्राप्त हुनेछन् । पुराना समस्या हल हुनेछन्, रोकिएका काममा सफलता पाइनेछ । विवाहयोग्य युवायुवतीले दाम्पत्यबन्धनमा बाँधिने अवसर पाउने छन् । सन्ततिपक्षबाट शुभ सङ्केत मिल्नेछ । यस वर्षको वैशाख, असार र मंसिर महिना हानिप्रद समय हुनेछ ।
मिथुन राशिकाे वार्षिक फलादेश
मिथुन राशि हुनेहरूका लागि यो वर्ष मिश्रित फल प्राप्त हुने समय रहने छ । परिवारका वृद्धजनहरूको स्वास्थ्यस्थितिमा सुधार आउने छ । घरपरिवारमा कुनै शुभ वा माङ्गलिक कर्म सम्पन्न हुनेछ । बन्दव्यापार र पशुपालनको क्षेत्रबाट लाभ मिल्नेछ । विद्यार्थी वर्गका लागि यो वर्ष उत्तम रहने छ, प्रतियोगी र परीक्षार्थीहरूले सफलता मिल्नेछ । सन्तान सुख प्राप्त हुनेछ । सरुवा र बढुवाका लागि गरिएको प्रयास सफल हुनेछ । कुनै लामो यात्राको सम्भावना पनि देखिंदैछ । तर बैंक, वित्तीय क्षेत्र, पूँजीबजार र विज्ञापनका क्षेत्रमा काम गर्नेहरूले मन्दीको सामना गर्नुपर्ने छ । आफन्तसँगको लेनदेनको कारोबार र साझेदारीको काममा विवाद उत्पन्न हुनेछ । दाम्पत्य जीवनमा विचारको बेमेलले तनाव सिर्जना गर्नसक्छ । पारिवारिक स्वास्थ्यका क्षेत्रमा ठूलै धनराशि खर्च हुने सम्भावना पनि छ । यस वर्ष जेठ, साउन र पुस महिनामा शुभफलको कमी हुनेछ ।
कर्कट राशिकाे वार्षिक फलादेश
कर्कट राशि हुनेहरूका निमित्त यस वर्ष नोकरी र सामाजिक काममा पदोन्नति, मानसम्मान मिल्ने समय भए पनि समग्रतामा मिश्रित परिणाम प्राप्त हुनेछ । आर्थिक पक्ष मजबूत नै रहने छ र कर्मचारीले अनिच्छित काम गर्नु परे पनि आर्थिकबृद्धिका लागि गरिएको प्रयास सफल हुनेछ, त्यस्तै प्रतियोगी र परीक्षार्थीले राम्रो नतिजा हात पार्ने सङ्केत छ । तर आकस्मिक व्ययको चिन्ताले सताउने देखिन्छ । बैंक, वित्तीय क्षेत्र र सेयरबजारमा फाइदा हुने छैन । लगानी डुब्ने खतरा छ । जागिरेले नचाहेको क्षेत्रमा खट्ने परिस्थिति बन्ने छ । गृहिणी र महिलामा मानसिक तनाव बढ्ने छ । घरमा कोही न कोही बिमारी भइरहने परिस्थिति बन्नेछ । पारिवारिक स्वास्थ्यका सिलसिलामा अस्पताल धाइरहनु पर्नेछ । आँफू स्वयंलाई पेट र दाँतका रोग देखिन सक्छन् । यस वर्षको असार, भदौ र माघ महिना हानिकारक देखिन्छन् ।
सिंह राशिकाे वार्षिक फलादेश
सिंह राशि हुनेहरूका लागि यो वर्षको सुरुको छ महिना शुभ देखिदैन । वर्षको प्रारम्भमा अग्निभय, चोरभय र चोटपटकको सम्भावना छ । पेसा र रोजगारीका क्षेत्रमा अनेकानेक कठिनाइको सामना गर्नु पर्ने छ । बन्दव्यापारमा हानि हुनेछ । सूचना, सञ्चार र मौखिक अभिव्यक्तिसित सम्बद्ध काम गर्नेहरूको प्रतिष्ठा गिर्नेछ । शरीरमा रहेका पुराना रोगव्याधिले दुःख दिनेछन् । परिवारका ज्येष्ठसदस्य र जीवनसाथीको स्वास्थ्यमा पनि समस्या उत्पन्न हुनेछ । घरमा बाध्यताकारी धार्मिक कृत्य वा माङ्गलिक कर्मका कारण आर्थिक बोझ बढ्ने छ । तर वर्षको उत्तरार्द्धमा शत्रुहरू पराजित हुनेछन् । गुमेको धन हात लाग्नेछ । पारिवारिक स्वास्थ्यसम्बन्धी समस्याबाट छुटकारा मिल्नेछ । दाम्पत्यजीवन सफल रहने छ । प्रतियोगी र परीक्षार्थीले सफलता पाउने छन् । पुराना इष्टमित्रसँग पुनः सहकार्य हुनेछ । यस वर्षको साउन, असोज र फाल्गुन महिना अझ बढी कष्टप्रद रहने छ ।
कन्या राशिकाे वार्षिक फलादेश
कन्या राशि हुनेहरूका लागि यो वर्ष समस्त मनोकाङ्क्षा पूर्ण गर्ने समय भएकाले अत्यन्त शुभ रहने छ । कर्मचारीको चाहेको ठाउँमा सरुवा हुने वा बढुवा मिल्ने सम्भावना छ । नातेदारहरूले सहयोग गर्नेछन् । प्रेम र प्रणय क्षेत्रमा शुभफल छ । विद्यार्थीहरूले परिश्रम गरेबमोजिम राम्रो परिणाम हात पार्नेछन् । जग्गाजमिन र घरघडेरीको जोहो हुनसक्छ । वैदेशिक क्षेत्रमा काम बन्नुका साथै विदेशबाट लाभसमेत हुनेछ । तथापि चतुर्थ भावमा रहेको अढैया शनिका कारण पारिवारिक समस्या बढ्न सक्छन् । राज्यपक्ष वा ठूलाबडासँग मतभेद र विवादको परिस्थिति देखा पर्नेछ । साँधसँधियार र साझेदारीमा विवाद र कलहको सम्भावना हुनेछ । कर्मचारीको कार्य क्षेत्रमा झमेला र विवादको स्थिति देखा पर्नेछ । स्वास्थ्यक्षेत्रमा श्वासप्रश्वास र हृदयरोगीले सतर्क रहनु आवश्यक छ । यस वर्षको भाद्र, कार्तिक र चैत्र महिना अन्य महिनाका तुलनामा हानिकारक रहने छन् ।
तुला राशिकाे वार्षिक फलादेश
तुला राशि हुनेहरूका लागि यो वर्ष शुभ फलदायी समय रहने छ, यद्यपि स्वास्थ्यसम्बद्ध समस्या देखा पर्न सक्छन् । गरेका हरेक क्रियाकलापमा सफलता प्राप्त हुनेछ । सामाजिक कार्यमा सहभागिता बढ्ने छ । तर व्यापारीहरूको बन्दव्यापारमा मन्दीको सङ्केत छ, ऋणभार बढ्न सक्छ । सरकारी कर्मचारीहरूले कार्यक्षेत्रमा कार्यभार बढेको अनुभूति गर्नेछन् । बौद्धिक क्षेत्र खासगरी शिक्षण, अध्यापन, लेखन पत्रकारिता क्षेत्रका व्यक्तिहरूले सम्मानित हुने अवसर पाउने छन् । आर्थिक पक्षका समस्याको निराकरण हुनेछ, तर घरभित्रका समस्या बल्झिने सम्भावना हुन्छ । पारिवारिक ढंगले गरिएको लगानी र लेनदेनमा हानि पुग्नसक्छ । वर्षको अन्त्यमा कर्मचारीले उपल्लो निकायबाट दवाव बढेको अनुभूति गर्नेछन् । अड्डाअदालतबाट लाभ लिन सकिंदैन । आम्दानीको बाटो सहज भए पनि फजुल खर्च बढ्ने सम्भावना पनि छ । खासगरी यस वर्षको वैशाख, असोज र मंसिर महिना तपाईंका लागि सतर्क रहनु पर्ने समय हो ।
वृश्चिक राशिकाे वार्षिक फलादेश
वृश्चिक राशि हुनेहरूका लागि पूर्वार्द्धका तुलनामा उत्तरार्द्ध केही लाभमूलक रहने सङ्केत छ । शनिश्चर ग्रहको अन्तिम साढेसातीको समय रहेकाले अनावश्यक खर्चलाई नियन्त्रण गर्न सकिंदैन । मेसिन, हातहतियार र वाहनबाट सचेत हुनुपर्छ, दुर्घटनाको प्रकोप सहनु पर्नेछ । नाता र कुटुम्बका बीचमा विवाद र झैझगडाको परिस्थिति सिर्जना हुनेछ । बहुमूल्य सामान हराउने र चोरी वा ठगीमा पर्ने सम्भावना देखिन्छ । आर्थिक स्थिति सामान्य रहे पनि बन्दव्यापारबाट लाभ लिन सकिंदैन । प्रतियोगी र परीक्षार्थीले पहिलेभन्दा अलिबढी मिहिनेत गर्नुपर्नेछ । सुरुको छ महिना चिताएका काम पूर्ण गर्न विभिन्न विघ्न र बाधाको सामना गर्नुपर्ने हुन्छ, तर उत्तरार्द्धमा चिताएका काम बन्नेछन् । विवाहयोग्य युवायुवतीको घरजम हुनेछ । वैदेशिक प्रयोजनका कामबाट लाभ लिन सकिने छ । विशेषगरी यस वर्षको जेठ, कार्तिक र पुस महिना बढी हानिकारक रहने छन् ।
धनु राशिकाे वार्षिक फलादेश
धनु राशि भएका व्यक्तिहरूले यस वर्ष केही सकारात्मक फल प्राप्त गर्नेछन् । शनिको मध्य साढेसातीको समय चलिरहेकाले दौडधूप र सङ्घर्षप्रद समय रहे पनि अड्डाअदालत र राज्यपक्षबाट हुनु पर्ने काममा सफलता मिल्नेछ । पुराना झैझगडा र विवादको अन्त्य हुनेछ । गुमेको धन फिर्ता आउने छ । सन्ततिपक्षबाट शुभफल प्राप्त हुनेछ । वैदेशिक प्रयोजनका कामबाट लाभ पाइनेछ । विदेशयात्राको योग छ । सरकारी पद र प्रतिष्ठा आर्जन गर्न गरेको प्रयास सफल हुनेछ । वाहन जोड्ने वा घरघडेरीको जोहो गर्ने समय आएको छ । तर घरपरिवारमा सबैको स्वास्थ्यसम्बद्ध अनेकानेक समस्या देखिन सक्छन् । विशेषगरी पाचन प्रणालीमा विविध समस्या देखा पर्ने सम्भावना छ । वर्षान्तमा पवित्र तीर्थस्थलको भ्रमण हुनसक्छ र सामाजिक कार्यमा खर्च बढ्ने सङ्केत छ । खासगरी यस वर्षको असार, मंसिर र माघ महिना अनुकूल हुने छैनन् ।
मकर राशिकाे वार्षिक फलादेश
मकर राशिमा आद्य साढेसातीको प्रकोप रहेको वर्ष भए पनि मिश्रित प्रभाव भएको समय छ । आर्थिक दृष्टिले समय तनावपूर्ण रहने छ । नातागोता र आफन्तका बीचमा खटपट बढ्ने छ । पति वा पत्नीको स्वास्थ्यस्थिति कमजोर बन्नेछ । बन्दव्यापारमा साझेदारबाट समस्या उत्पन्न हुनेछ । रिस र आवेगमा बृद्धि हुनेछ । मनोबलमा खस्कने छ । कर्मचारीले अपजसको भागी बन्नुपर्नेछ, नचाहेको जिम्मेबारी लिनुपर्ने वा मन नपरेको ठाउँमा सरुवा हुनुपर्ने परिस्थिति पनि देखिन्छ । परिवारमा बाध्यताकारी काममा धनखर्चको योग छ । तर केही शुभफल पनि पाइने छ, जस्तै वैदेशिक क्षेत्रका कामबाट लाभ हुनेछ, परिवारमा माङ्गलिक कर्म सम्पादन हुनेछन् । सन्ततिपक्षबाट खुसीको वातावरण बन्नेछ । अयाचित धनागम हुनेछ र पुर्ख्यौली सम्पत्तिको बाडफाँडको सङ्केत पनि देखिंदैछ । खासगरी यस वर्षको साउन, पुस र फाल्गुन महिना तपाईंका लागि लाभप्रद रहने छैनन् ।
कुम्भ राशिकाे वार्षिक फलादेश
कुम्भ राशि हुनेहरूका लागि यो वर्ष अनुकूल रहने छ । नयाँ कामको थालनी हुनेछ । व्यापार बढ्ने आय आर्जनका नयाँ नयाँ स्रोत फेला पर्नेछन् । फँसेको धन फिर्ता आउने छ । घरायसी र पारिवारिक तनावको अन्त्य हुनेछ । धार्मिक र पर्यटकीय महत्त्वका क्षेत्रको भ्रमण हुनेछ, वा कतै पारिवारिक भ्रमणमा जान सक्नुहुन्छ । विद्यार्थी, प्रतियोगी र परीक्षार्थीले मिहिनेतबमोजिम राम्रो परिणाम प्राप्त गर्नेछन् । सन्ततिले आफ्नो कार्यक्षेत्रमा गरेका प्रयासमा सफलता आर्जन गर्नेछन् । घरपरिवारमा शुभकर्म वा माङ्गलिक कर्मको आयोजन हुनेछ । यद्यपि मातापिता वा अभिभावकको स्वास्थ्यमा बाधा पुग्ने सम्भावना छ, तर डराइहाल्नु पर्ने परिस्थिति बन्दैन । जागिरेले प्रशंसा र बढुवा पाउने छन् । समग्रमा राम्रै वर्ष छ, तर साझेदारीमा गरेको कामबाट बेफाइदा हुनेछ । यस वर्षको भाद्र, माघ र चैत्र महिना सचेत हुनुभएको जाति हुन्छ ।
मीन राशिकाे वार्षिक फलादेश
यो वर्ष धनधान्य र सुस्वास्थ्यका दृष्टिकोणले उत्तम समय छ । सुखद र शुभ समाचारहरू प्राप्त हुनेछन् । जग्गाजमिन, मोटरगाडी, आभूषण र गरगहना जोड्ने समय छ । ठूलो पद वा सम्मानको अवसर मिल्नेछ । शुभकर्म र माङ्गलिक कर्मको आयोजना हुनेछ । दाजुभाइसितको सम्बन्ध सुध्रने सङ्केत छ, तर पैतृक सम्पत्ति र लेनदेनको विवाद अझ चुलिन सक्छ । व्यापारीहरूले नयाँ कारोबार सुरु गर्नेछन् । मिडिया र लेखनव्यवसायका व्यक्तिहरूले मानसम्मान र प्रतिष्ठा पाउने छन् । तर सामाजिक र राजनीतिमा लागेकाहरूले अलि बढी चुनौतीको सामना गर्नुपर्ने हुन्छ । दाम्पत्यजीवनमा विश्वासको सङ्कट देखा पर्नेछ, त्यसैले भ्रम र हल्लाका भरमा कुद्नु हुँदैन । वर्षको पूर्वार्द्धमा अष्टमभावमा राशिस्वामी रहेकाले रोगव्याधि र चोटपटकको भय हुनेछ, सचेत हुनुपर्छ । विशेषगरी यस वर्षको वैशाख, असोज र फाल्गुन महिना तपाईंका लागि लाभप्रद रहने छैनन् ।
साभार: सहप्राध्यापक, कृष्णप्रसाद कोइरालाले लेख्नुभएको राशिफल ज्योतिषसाथीबाट
सम्पर्क फोन नं. +977 9852059764, +977 9814348111
इमेल: jkpkoirala@gmail.com