स्थानीय तह निर्वाचन : ६ सय ८५ स्थानको मतपरिणाम सार्वजनिक

स्थानीय तह निर्वाचन : ६ सय ८५ स्थानको मतपरिणाम सार्वजनिक

काठमाडौं।स्थानीय तह निर्वाचन २०७९ को मतगणना अन्तिम चरणमा पुगेको छ । वैशाख ३० मा देशभर एकैचरणमा भएको मतदान पछि हालसम्म ६ सय ८५ पलिकाको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ ।

अब ६८ पालिकाको मतपरिणाम मात्रै आउन बाँकी रहेको छ । बाँकी रहेको स्थानको मतपरिणाम पनि छिटै सक्ने निर्वाचन अधिकृतहरूले बताएका छन् । हालसम्मको तथ्याङ्क अनुसार नेपाली काँग्रेसले सबैभन्दा धेरै ३ सय ५ पालिका प्रमुख र २ सय ७९ उपप्रमुखमा जित हात पारेको छ । यस्तै नेकपा एमालेले हालसम्म १ सय ८७ प्रमुख र २ सय १२ उपप्रमुखमा जित पारेको छ । नेकपा माओवादी केन्द्रले हालसम्म १ सय १६ पालिका प्रमुखमा जित निकालेको छ भने १ सय २१ उपप्रमुखमा जितेको छ । जनता समाजवादी पार्टीले २३ प्रमुख र २५ उपप्रमुख, एकीकृत समाजवादीले १७ प्रमुख अनि २१ उपप्रमुख, लोकतान्त्रिक समाजवादीले १० प्रमुख र ९ उपप्रमुखमा जित हात पारेको छ । अन्य तर्फका २७ जनाले प्रमुख र १९ जनाले उपप्रमुखमा जित हात पारेका छन् ।

विशेषगरी महानगर र उप महानगरको पालिकाको मतगणनामा ढिलाई भइरहेको छ । हालसम्म विराटनगर महानगरपालिकाको मात्रै अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । विराटनगर महानगरपालिकाको मेयरमा गठबन्धनबाट काँग्रेसका उम्मेदवार नागेश कोइराला विजयी हुनुभएको छ ।