पूर्वराजा ज्ञानेन्द्र शाहको नयाँ वर्ष सन्देश हेर्नुहाेस्

पूर्वराजा ज्ञानेन्द्र शाहको नयाँ वर्ष सन्देश हेर्नुहाेस्

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७५ अवसरमा शुभकामना व्यक्त गरेका छन्।

 सन्देश यस्ताे छ

हाम्रा मौलिक धर्म, संस्कृति र परम्पराबिरुद्ध खडा गरिएका चुनौती अझै शिथिल भइसकेका छैनन्। सबै नेपालीहरुको सपना स्वाभिमान र आत्मसम्मान सहितको सम्बृद्ध नेपाल हो। विश्वका अधिकांश मुलुकले समुन्नत जीवन बाँचिरहँदा सबै नेपालीले सोही स्तरको जीवन जिउने आकांक्षा राख्नु स्वाभाविकै हो। तर, यहाँ शब्दजालहरुको भुलभुलैयामा राखेर अन्तत राष्ट्रिय अस्तित्व नै क्षतविक्षत तुल्याइने खतरा बढ्दै गएको जनताले महसुस गरेको वर्तमान अवस्था राष्ट्रको यथास्थिति हो। राष्ट्रियता जनताको हार्दिकतासँग गाँसिएको संवेदनशील प्राणतत्व पनि हो। राष्ट्रको मबाट हामी अनि मेरोबाट हाम्रो गन्तव्य हुनुपर्छ।

सत्यको आवाज कहिल्यै कमजोर र सानो हुँदैन। कहिल्यै पराजित पनि हुँदैन। हामी चाहन्छौँ, एक नेपालीले अर्को नेपाली देख्दा झस्कने या तर्सनुपर्ने परिस्थिति नबनोस्। शासक, प्रशासकहरुको कार्य व्यवहार जनमुखी होस्, हरेक नेपालीको निम्ति स्वदेशभित्र नै रोजगारीको सुनिश्चितता होस्। वैज्ञानिक एवम् जीवनउपयोगी शिक्षाको व्यवस्था होस्। सुलभ स्वास्थ्य उपचारको सुविधा होस्। देश बनाउन उपयोग गर्नुपर्ने हातहरुलाई देश बचाउन उपयोग गर्नुपर्ने बाध्यात्मक अवस्थामा नपुर्‍याइयोस्।

नववर्ष २०७५ ले सबै अटाउने राजनीति, सबैको शिर ठाडो हुने राष्ट्रिय भावना, अटल सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, धीर राष्ट्रप्रेम तथा सबैको समुन्नति प्रदान गरोस्।