नयाँ वर्ष २०७५ सालको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
नेपाली जनताको लामो त्याग र वलिदानको फलस्वरुप आफ्ना जनप्रतिनिधि मार्फत निर्माण भएको नेपालको संविधान बमोजिम स्थानीय, प्रदेश, प्रतिनिधिसभा र राष्ट्रिय सभाको ऐतिहासिक महत्वका निर्वाचनहरु सम्पन्न भई संविधानको सफल कार्यान्वयन भैसकेको छ र संक्रमणकालिन राजनीतिबाट मुलुकले निकास पाएको छ । यो ऐतिहासिक उपलब्धी पछि नेपाली जनताको अबको महत्वपूर्ण चाहना भनेको आर्थिक विकास नै हो र यसको प्राप्तिको लागि हामी सबै एकजुट भई मुलुकको सर्वाङ्गिण विकासमा अग्रसर हुनु पर्ने बेला आएको छ ।
मुलुकको समग्र आर्थिक विकासका लागि सम्पूर्ण राजनीतिक दल तथा जिम्मेवार निकायहरु मुलुक, मुलुकवासी र लोकतन्त्रको पक्षमा आ–आफ्ना दलगत स्वार्थ र सिमाभन्दा माथि उठेर एकतावद्ध भई अगाडि बढ्न आवश्यक छ । साथै, मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर बनाउन नयाँ वर्ष २०७५ ले हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।
जय नेपाल !