काठमाडौं,३० चैत। इपिजीको आठौँ बैठकमा १९५० को सन्धिसहित सबै विवादित विषय टुंग्याउने तयारी भएको छ । नेपाल र भारतबीचका सबै सन्धि-सम्झौता पुनरावलोकन गरी सुझाब दिन गठित इपिजीको बैठकले विवादित विषय टुंग्याउने तयारी गरेको हो ।
बैठकबाट १९५० को सन्धि, नेपाल-भारत सीमा व्यवस्थापन, व्यापार, जलस्रोतसम्बन्धी सहकार्यलगायत सबै विषयमा सहमति जुटाउने प्रयास भएको इपिजी नेपालका संयोजक डा। भेषबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार सदस्यहरूको सानो टिम बनाएर अहिलेसम्म तयार प्रारम्भिक प्रतिवेदन टुंग्याउने जिम्मा दिइने भएको छ । भारतको नयाँ दिल्लीमा हिजोदेखि सुरु भएको बैठकले अन्य धेरै विषयमा पनि सहमति खोज्ने तयारी गरेको छ ।
बैठकमा १९५० को सन्धि पुनरावलोकन तथा सीमा व्यवस्थापनको मुद्दा टुंग्याउने गरी नेपालले राखेको प्रस्तावमा भारतीय पक्षले सहमति जनाएको छ । बैठकमा नेपालबाट डा। भेषबहादुर थापा, नीलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय र डा। राजन भट्टराई तथा भारतबाट भगतसिंह कोस्यारी, जयन्त प्रसाद, महेन्द्र पी लामा र बिसी उप्रेती सहभागी हुनुहुन्छ । इपिजीको आठौँ बैठक आज सकिदैछ ।