राशिफल २०७४ काे अन्तिम दिन चैत्र ३० गते शुक्रबार कस्ताे छ हेर्नुहाेस्

राशिफल २०७४ काे अन्तिम दिन चैत्र ३० गते शुक्रबार कस्ताे छ हेर्नुहाेस्

मेष राशिकाे फल यस्ताे छ

पराक्रम र प्रसिद्धिमा वृद्धि हुने समय छ । मिहिनेत गर्नुपर्छ, जे गरे पनि सफलता आर्जन हुने दिन छ । देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ वा धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्ला । नोकरी गर्नेले मानसम्मान पाउने छन् । प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ ।

बृष राशिकाे फल यस्ताे छ

काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । नवीन रोजगारीको सम्भावना छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने छ । धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । मातापिता र अभिभावकवर्गको स्वास्थ्यमा सुधार आउने छ । कर्मचारीले हाकिमबाट महत्वपूर्ण कुरा फुत्काउन सक्छन् ।

मिथुन राशिकाे फल यस्ताे छ

दान, पुण्यका कार्यमा आकर्षण बढ्ने छ । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ । ज्ञानगुन र बौद्धिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । बन्दव्यापार फस्टाउने छ । आम्दानीमा कमी हुने छैन । सानो प्रयासले रोकिएको काम बन्नेछ । पारमार्थिक काममा खट्नु पर्ने समय छ । धार्मिक/सामाजिक क्षेत्रमा समय दिन सकिन्छ ।

कर्कट राशिकाे फल यस्ताे छ

भाग्यस्थानमा चन्द्रमाको प्रवेश हुँदैछ, तर पनि परिस्थिति विपक्षमा नै रहने सङ्केत देखिन्छ । कडा परिश्रम व्यर्थै खेर जान सक्छ । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । कताकता भाग्यबलमा कमी भएको आभास गर्नु हुनेछ । बन्दव्यापार र रोजगारीको क्षेत्रमा लगनशील र सक्रिय भएमा मात्र सफलता पाउनु हुनेछ । दिउँसोबाट निराशाको अन्त्य हुनसक्छ ।

सिंह राशिकाे फल यस्ताे छ

घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ । मेजमानीको अनुकूलता प्राप्त हुनेछ । दाम्पत्यसम्बन्ध सुखद रहनेछ । प्रेमको बन्धनमा बाँधिने बेला छ । परोपकारका क्षेत्रमा मन आकर्षित हुनेछ । स्वास्थ्यस्थितिमा अनुकूलता आउनेछ । काम गर्न जाँगर चल्नेछ, उत्साहवर्द्धक समय छ, आम्दानी बढ्न सक्छ ।

कन्या राशिकाे फल यस्ताे छ

मिष्ठान्न भोजनको अवसर आउने छ, तर आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ । शारीरिक प्रतिस्पर्धा र तर्क, विवाद वा न्याय सम्पादनका सिलसिलामा लाभ प्राप्त गर्न सक्नुहुनेछ । मानसम्मान र प्रतिष्ठाको प्राप्ति हुनसक्छ । आजको विनियोजन र लगानीले उत्तरोत्तर फाइदा हुनेछ । यात्रा लाभप्रद बन्न सक्छ ।

तुला राशिकाे फल यस्ताे छ

मानसम्मानमा गिरावट आउन नदिन प्रयास हुनेछन् । ज्ञानविज्ञान वा पठनपाठनमा ध्यान केन्द्रित हुन सक्दैन । बन्दव्यापारमा ध्यान पुर्याउन नसक्दा नोक्सानीको सम्भावना पनि छ । मनोरञ्जन, खेलवाड र बेकारका कुरामा अल्मलिएर समय व्यतीत हुनेछ । प्रणय सम्बन्धमा चिसोपन देखिन्छ । सन्तति वा भाइबहिनीका समस्यामा घोरिनु पर्ने समय छ ।

बृश्चिक राशिकाे फल यस्ताे छ

घरपरिवारभित्रका विविध समस्यामा रुमल्लिनु पर्ने छ । आन्तरिक सम्पत्तिको लेखाजोखा र बाँडफाडका विषयमा केन्द्रित हुने दिन छ । घरबाहिर बस्नेका लागि वा वैदेशिक क्षेत्रमा सन्तोषजनक देखिन्छ । दार्शनिक वा बौद्धिक क्षेत्रमा दिलचस्पी बढ्ने छ । ज्ञानगुन, परोपकार र वैराग्यका भावनाहरू सञ्चरण हुन्छन् । तर दिनभरि शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ ।

धनु राशिकाे फल यस्ताे छ

पराक्रम र प्रसिद्धि बढाउने समय छ, त्यसैले सानातिना कुरामा अल्मलिएर समय खेर फाल्नु हुँदैन । बन्धुबान्धव, साथीभाइ र मित्रवर्गबाट उत्कृष्ट सहयोगको आशा गर्न सकिन्छ । भाइबहिनीले पनि सन्तुष्ट तुल्याउने छन् । भोजभतेर र खानपिन जस्ता सामाजिक कार्यमा सहभागी बन्नु पर्नेछ । दीर्घकालिक फाइदाका लागि गरिएको प्रयासमा सफलता मिल्नेछ ।

मकर राशिकाे फल यस्ताे छ

चेलीबेटी र कुटुम्बपक्षका काममा समय दिनु पर्नेछ । बन्दव्यापार राम्रो छ । आर्थिक लगानी बढाउन अनुकूल छ । नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ, कारोबारमा सुधार आउने योग छ । प्रशंसकहरू बढ्ेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् ।

कुम्भ राशिकाे फल यस्ताे छ

नयाँ कामको लागि नयाँ अवसर आउनेछ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन आकर्षित हुनेछ । मन त्यसैत्यसै फुरुङ्ग हुने समय छ । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ । घरपरिवारमा राम्रो छ । बन्दव्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । प्रतिष्ठित काम गर्ने मौका छ । आत्म–विश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । बन्दव्यापारबाट लाभ मिल्नेछ । फुर्सद नमिले पनि राम्रो नतिजा हात पर्नेछ ।

मीन राशिकाे फल यस्ताे छ

यात्राको योग छ । यात्राका क्रममा होस राख्नु राम्रो हुन्छ । खानपानमा नियन्त्रण गर्नु बेस हुनेछ । काममा बाधा देखिए पनि अत्तालिइ हाल्नु पर्दैन । बेलाबेलामा अशान्ति र छटपटी हुनसक्छ । कुनै गोप्य योजना कार्यान्वयन गर्न आजको दिन अनुकूल छ । बन्दव्यापारमा बेफाइदा छैन । आत्मबल र हौसला नत्यागे सफलता पाउनु हुनेछ ।

-ज्याेतिष साथीमा प्रकाशित सह-प्रा‍. कृष्णप्रसाद कोइरालाकाे ब्लगबाट 

सह-प्राध्यापक, नेपाल संस्कृत विश्वविद्यालय, पिण्डेश्वर विद्यापीठ, धरान, सुनसरी