पार्टी एकीकरण प्रक्रियामा माओवादी रणनीति ‘पर्ख र हेर’

पार्टी एकीकरण प्रक्रियामा माओवादी रणनीति ‘पर्ख र हेर’

काठमाडौँ, २९  चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति माओवादी केन्द्र सशंकित बनेको छ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीको कार्यशैली एकलौटी रहेको भन्दै सशंकित बनेको माओवादीले दुई पार्टी एकीकरणबारे ‘पर्ख रहेर’ को रणनीति अख्तियार गर्न लागेको छ ।

‘एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले जुन शैलीमा पार्टी र सरकार सञ्चालन गरिरहनुभएकोे छ त्यसले हाम्रा नेताहरूलाई झस्काएको छ,’ माओवादी केन्द्रका एक नेताले भने, ‘त्यसैले माओवादी केन्द्रका नेताहरूमा वैशाख ९ गते नै पार्टी एकता गर्ने जाँगर कम देखिएको छ । अहिले पर्ख र हेरकै अवस्था छौं ।’ पार्टी एकीकरण प्रक्रियालाई हतारमा निष्कर्षमा पु-याउनुभन्दा केही समय एमाले अध्यक्ष ओलीको कार्यशैली विचार गर्ने आन्तरिक रणनीति माओवादी केन्द्रले तय गरेको हो। पार्टी एकतापछि आफ्नो भूमिका कमजोर हुनसक्ने माओवादी नेतृत्वको बुझाइ छ ।

माओवादी नेताहरू पार्टी एकताबाट पछि हट्ने पक्षमा भने छैनन् । तर उनीहरू तत्कालका लागि एकता प्रक्रिया केही समय पर सार्ने मनस्थितिमा छन् । ‘पार्टी एकताबाट पछि हट्ने अवस्था होइन । तर तत्काल एकता गरेर पछि बाहिर निस्कन राजनीतिक तथा कानुनी रूपमा गाह्रो हुनेछ । त्यसैले वैशाख ९ को मिति पछि सार्ने पक्षमा नेताहरू रहेका छन्,’ ती माओवादी नेताले भने, ‘थप गृहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यकता छ ।’

राजनीतिक दलसम्बन्धी नयाँ व्यवस्थाले पार्टी विभाजनपछिको कानुनी मान्यतालाई कठिन बनाएको छ । नयाँ दलको मान्यता पाउन पार्टी केन्द्रीय कमिटी र ससंदीय दल दुवैतर्फ कम्तीमा ४० प्रतिशत संख्या आवश्यक पर्छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र अन्य नेताहरूले वैशाख ९ गते नेपाल कम्युनिस्ट पार्टी स्थापनाकै दिन पार्टी एकीकरण हुने बताउँदै आएका छन् । पार्टी एकताका वैचारिक र संगठनात्मक विषयमा मस्यौदा तयार पार्न गठन गरिएको कार्यदलले वैशाख ९ गते एकता गर्न केन्द्रीय एकता संयोजन समितिमा सिफारिस गरेको छ ।

वैचारिक विषयमा दुवै दलबीच कुनै विमति नभए पनि सांगठनिक विषयमा केही कुरा मिल्न बाँकी छ । दुवै कार्यदलले फागुन ७ गते सार्वजनिक एकीकरणका प्रारम्भिक आधारमा रहेर प्रतिवेदन तयार पारेका थिए । माओवादी नेताहरूले एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीको अन्य पक्षको कुरा नसुन्ने र सरकारमा पनि एकलौटी निर्णय गर्ने कार्यशैली रहेको भन्दै एकीकृत पार्टीमा त्यस्तो व्यवहार नदेखाउन सुनिश्चितता खोजेको बताएका छन् । मन्त्रालयका सचिवहरुको सरुवा गर्दा प्रधानमन्त्री ओलीले माओवादीबाट सरकारमा सहभागी मन्त्रीहरूसँग परामर्श नगरेपछि माओवादी असन्तुष्ट बनेको छ। यसबारे  माओवादी मन्त्रीहरूले अध्यक्ष दाहाललाई सामूहिक रूपमा भेटेर गुनासो गशरेका थिए ।

‘एमाले पार्टी अहिले जसरी सञ्चालन भएको छ, एकीकरणपछि त्यस्तो कार्यशैली नहोस् भन्ने हाम्रो चाहना हो,’ ती माओवादी नेताले भने, ‘तर अहिले पार्टी मात्रै नभएर सरकार सञ्चालनमा पनि त्यस्तो देखिएन । सरकारका महत्वपूर्ण निर्णय गर्दा हामीलाई बाइपास गर्ने काम भएको छ।’ त्यसैगरी पछिल्लो समयमा एमालेभित्र देखिएको आन्तरिक समीकरण पनि अनुकूल नभएको बुझाइ माओवादी केन्द्रको छ ।