

काठमाडौं, १७ वैशाख।नेपाली राष्ट्रिय क्रिकेट टिमले आज पाहुना टोली जिम्बावे ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
नेपालले पहिलो एकदिवसीय अन्तर्गत आज जिम्बावे ‘ए’ विरुद्ध खेल्न लागेको हो । टियु क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावे ‘ए’ बीचको खेल बिहान ९ : ३० बजे सुरु हुनेछ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेल्न लागेको हो । आज नेपाल जिम्बावेलाई हराउँदै सिरिजका सुखद सुरुआत गर्ने योजनामा रहेको छ । तर, टेस्ट राष्ट्रविरुद्ध नेपाललाई सहज भने छैन । जिम्बावे ‘ए’ पनि नेपाललाई हराएर सिरिजमा विजयी सुरुवात गर्न चाहन्छ ।
तर, देशभरको मौसम परिवर्तनका कारण आजको खेल हुने सम्भावना भने न्यून रहेको छ । काठमाडौँमा वर्षाको सम्भावना रहेकाले आजको खेल स्थगित हुने सम्भावना देखिएको छ । नेपालले तीन वर्ष अघि सिंगापुरमा जिम्बावेविरुद्ध खेलेको थियो । त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत दुबै खेलमा नेपाल पराजित भएको थियो । नेपालले घरेलु मैदानमा जिम्बावे ‘ए’ सँग तीन खेलको एकदिवसीय सिरिजपछि तीन खेलको टी–ट्वान्टी सिरिज खेल्नेछ । एकदिवसीय सिरिज अन्तर्गतको दोस्रो खेल सोमबार र तेस्रो खेल बुधबार हुनेछ । एकदिवसीयपछि नेपालले टी–ट्वान्टी सिरिज खेल्नेछ । टी–ट्वान्टी सिरिज वैशाख २३ देखि २६ सम्म चल्ने छ ।