सुकीलाई थप पाँच वर्ष जेल सजाय

सुकीलाई थप पाँच वर्ष जेल सजाय

म्यानमार, १४ वैशाख।म्यानमारको जुन्ता अदालतले अपदस्थ नेतृ आङ सान सुकीलाई भ्रष्टाचार आरोपमा दोषी ठहर गर्दै बुधबार पाँच वर्षको जेल सजाय सुनाएको छ ।
७६ वर्षीया नोबेल पुरस्कार विजेता सुकीमाथि ६ लाख डलर नगद र सुन घुस लिएको आरोप लागेको थियो ।

यो सजायसँगै उनी ११ वर्ष कैदमा बस्नुपर्ने भएको छ । गत डिसेम्बरमा सुकीलाई कोभिड प्रतिबन्ध उल्लंघन गरेको मुद्दामा र जनवरीमा प्रतिबन्धित वाकीटकी राखेको मुद्दामा दोषी ठहर गरिएको थियो ।सुनुवाइका क्रममा अदालतमा पत्रकारहरूलाई उपस्थित हुन प्रतिबन्ध लगाइएको थियो । त्यस्तै, सुकीका वकिलहरूलाई सञ्चारकर्मीसँग बोल्न पनि रोक लगाइएको थियो ।

गत वर्ष फेब्रुवरीमा सैन्य कुमार्फत सत्ताच्युत भएपछि सरकारले सुकीमाथि दर्जनौँ फौजदारी अभियोग लगाएको छ । उनीमाथिका अभियोग पुष्टि भएमा सुकी वर्षौँसम्म जेलमा बस्नुपर्नेछ ।आफूमाथिका सबै आरोपहरूको सुकीले अस्वीकार गरेकी छन् । त्यस्तै, अदालतको सुनुवाइ निष्पक्ष नभएको अधिकारकर्मीहरूको भनाई छ ।
अपदस्थ भएयता उनी घरमै नजरबन्दमा रहेकी छिन् ।