बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २७ किलोमिटर लामो सुरुङ चार वर्षमा पूरा

बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २७ किलोमिटर लामो सुरुङ चार वर्षमा पूरा

टेकराज थामीले लेख्नुभएको यो खबर नयाँ पत्रिका दैनिकबाट लिएका हौं ।

माघपछि मात्रै पिउन योग्य

‘पाइपभित्र विभिन्न फोहोर जमेका हुन सक्छन् । स्वास्थ्यमा असर गर्ने खालका कीटाणु पनि पाइपमा हुन सक्छन् । ट्रिटमेन्ट गर्न समय लाग्छ । त्यसबाहेक उपभोक्ताका घरघरमा जोडिएका प्रत्येक पाइपमा मिटर जडान गर्न बाँकी छ । यसका लागि मात्रै ३ महिनाभन्दा धेरै समय लाग्ने देखिन्छ,’ परियोजना कार्यन्वयन निर्देशनालयका प्रमुख तिरेश खत्रीले भने ।

बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २७ किलोमिटर लामो सुरुङ चार वर्षमा पूरा भएको छ । मंगलबार दिउँसो २ः२५ बजे २७.५८४ किमि सुरुङ ‘ब्रेक थ्रु’ भएसँगै मेलम्चीको पानी काठमाडौं छिटै आउने सम्भावना बलियो भएको छ । अन्य व्यवस्थापकीय काम सकेर आगामी भदौसम्ममा काठमाडौंमा पानी आइपुग्ने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले बताए । तर, उपभोगका लागि भने माघदेखि मेलम्चीको पानी प्रयोगमा ल्याइने उनले बताए ।

अब, कति काम बाँकी ?
सुरुङ खनिए पनि प्लास्टर र भुइँ ढलान गर्न बाँकी नै छ । अहिलेसम्म ४.५ किमिमा मात्रै प्लास्टर र भुइँ ढलान भएको छ । २३.०८४ किमि सुरुङको प्लास्टर र भुइँ ढलान गर्न कम्तीमा तीन महिना लाग्ने समितिले जनाएको छ ।

सुरुङभित्र कम्तीमा तीनवटा एअर लिफ्ट भेन्टिलेटर पनि राख्नुपर्छ । यसका लागि कम्तीमा ६० दिन लाग्छ । सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्र र सुरुङको मुख जोड्न २५० मिटर पाइप बिछ्याउन बाँकी छ । सिन्धुपाल्चोकस्थित पानीको मुहानमा पनि ६० मिटर लम्बाइको पाइप बिछ्याउन बाँकी छ । सुरुङभित्र छिर्ने अडिटको मर्मत पनि गर्नुपर्नेछ । सबै काम योजनाअनुसार अघि बढे सकिन कम्तीमा साउनको मसान्तसम्म कुर्नुपर्छ । तर, सबै काम सकिएको अर्को ६ महिनापछि मात्रै उपत्यकावासीले पानी पिउन पाउनेछन् ।

समितिका कार्यकारी निर्देशक देवकोटाले मेलम्ची खानेपानी परियोजना–१ अन्तर्गत सुरुङ खन्ने काम सकिए पनि सम्बन्धित ६.७७ प्रतिशत काम बाँकी नै रहेको बताए । उनले भने, ‘सुरुङ खन्ने काम त सकियो । यसको अर्थ अहिले नै सुरुङभित्र पानी छिराएर उपत्यका ल्याउने होइन । काम अझै बाँकी छन् । ती काम सक्न अगस्ट लाग्छ । त्यसपछि मात्रै सुरुङमा पानी पठाउन मिल्छ ।’

पानी वितरणका लागि उपत्यकाभित्र करिब हजार किमि पाइप बिछ्याउनुपर्नेमा सय मिटर बाँकी नै छ । पानी संकलनका निर्माणाधीन ९ वटा ट्यांकीमध्ये ८ वटाको ८० प्रतिशत काम सकिएको छ । एउटा ट्यांकी त भर्खर निर्माण सुरु गरिएको छ ।

यसबाहेक भक्तपुरको कटुन्जेमा पनि एउटा ट्यांकी निर्माण हुँदै छ । यी सबै काम अगस्टसम्ममा सकिनेछन् ।

२८ अर्बको योजना
समितिका अनुसार मेलम्ची खानेपानी पारियोजनाअन्तर्गतको सुरुङ निर्माण तथा पानी प्रशोधन केन्द्र निर्माणको कुल बजेट २७ अर्ब ७६ करोड रुपैयाँ हो । त्यसमध्ये करिब ८० प्रतिशत एसियाली विकास बैंकको ऋण हो भने बाँकी २० प्रतिशत नेपाल सरकारको छ । अहिलेसम्म २४ अर्ब २२ करोड रुपैयाँ खर्च भइसकेको छ ।

ठेकेदारले माग्यो १ अर्ब ६५ करोड क्षतिपूर्ति
निर्धारित समयभन्दा ६ महिनाअघि ठेकेदार कम्पनीले सुरुङ खन्ने काम सकेको भए प्रतिदिन ३८ लाख ६१ हजार ७ सय ३५ का दरले ६ महिनाको एकमुष्ट रकम ६९ करोड ५१ लाख १२ हजार ३ सय रुपैयाँ बोनस पाउँथ्यो । तर, यसले निर्धारित समयमा काम सकेन । यद्यपि, यसले अहिले सरकारसँग एक अर्ब ६५ करोड रुपैयाँ क्षतिपूर्ति माग गरेको छ ।

समितिका अनुसार ठेकेदार कम्पनीले भूकम्पले क्षति पुर्‍याएकाले निर्माण भइसकेको सुरुङमा चट्टान झरेको र त्यसलाई फोड्न परेकाले क्षतिपूर्ति माग गरेको हो । यही माग राखेर उसले केही दिन कामसमेत रोकेको थियो । पछि सरकार २८ करोड रुपैयाँ दिन राजी भएपछि काम पुनः सुरु भएको थियो । यद्यपि, उसले राख्दै आएको माग भने छाडेको छैन । चिनियाँ ठेकेदार कम्पनी सिआरसिसीले छाडेपछि ३१ असार ०७० देखि इटालियन ठेकेदार कम्पनी को–अपरेटिभ मुरातोरी इ सेमेन्तेस्टी (सिएमसी दी रेभेन्ना)ले आयोजना निर्माणको ठेक्का पाएको थियो । ठेक्का सम्झौताअनुसार उसले सुरुङ निर्माणको सम्पूर्ण काम १०९५ दिन (३६.५ महिना) मा सक्नुपर्ने थियो । तर, सुरु निर्माण गर्न १४६० भन्दा धेरै दिन लगाएको छ ।

२० वर्षको सपना साकारोन्मुख
मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याउने बहस खासगरी प्रजातन्त्र पुनस्र्थापनापछि भएको पाइन्छ । तत्कालीन अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले काठमाडौंमा मेलम्चीको पानी ल्याउने नारा ०४८ को निर्वाचनमा बाँडेका थिए । तर, निर्वाचनमा उनी हारे । त्यसपछि मेलम्चीको पानी काठमाडौं ल्याउने बहस सेलायो ।

०५४ को स्थानीय चुनावपछि मेलम्ची खानेपानीले फेरि चर्चा पायो । त्यसलगत्तै मुलुकमा संसदीय चुनावको महोल बन्यो । विशेषगरी कांग्रेसले उपत्यकामा मेलम्ची खानेपानी ल्याउने विषयलाई चुनावी एजेन्डा नै बनायो । नभन्दै ०५५ मा पहिलोपटक मेलम्ची खानेपानी विकास समिति गठन भयो । ०५६ को संसदीय चुनावको संघारमा कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईले काठमाडौंका सडक मेलम्चीको पानीले पखालिदिने भाषण नै दिए ।

समितिले परियोजनाको अध्ययन गर्‍यो । डिपिआर बनायो । आवश्यक जग्गा अधिग्रहण ग¥यो । आवश्यक अन्य संरचना पनि बनायो । तर, परियोजना निर्माणको भरपर्दो आर्थिक स्रोत जुटाउन सकेन । आर्थिक स्रोत खोजीकै क्रममा ०६५ मा एसियाली विकास बैंक मेलम्ची खानेपानी परियोजना निर्माणका लागि ऋण दिन तयार भयो । एडिबीसँग लगत्तै सम्झौता भयो । सुरुङ निर्माणका लागि विश्वव्यापी बोलपत्र आह्वान भयो । ०६६ मा चिनियाँ ठेकेदार कम्पनी सिआरसिसीले सुरुङ मार्ग निर्माणको जिम्मा पायो । ठेकेदार कम्पनीले तीन वर्षको अवधिमा ६.५ किमि मात्रै सुरुङ खन्यो । त्यसपछि सरकारले उक्त ठेकेदार कम्पनीलाई हटायो । ०६९ मा सुरुङ मार्ग निर्माणका लागि इटालियन ठेकेदार कम्पनी सिएमसी डी रेनेभा नियुक्त भयो । यसले पनि केही महिना काम गर्न आलटाल गर्‍यो । विभिन्न दबाबपछि अन्ततः ३१ असार ०७० बाट उसले काम सुरु गर्‍यो । भारतको नाकाबन्दी, भूकम्पलगायत विविध समस्या तोड्दै ठेकेदार कम्पनीले बल्ल सुरुङ खन्ने काम सकाएको छ ।