प्रहरी महानिरीक्षकमा सर्वेन्द्र खनाल, सशस्त्रमा शैलेन्द्र खनाल

प्रहरी महानिरीक्षकमा सर्वेन्द्र खनाल, सशस्त्रमा शैलेन्द्र खनाल

काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा सर्वेन्द्र खनाल नियुक्त भएका छन् भने शैलेन्द्र खनाल सशस्त्र प्रहरीको महानिरीक्षक बनेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले चैत २९ गतदेखि लागू हुने गरी प्रहरीमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी अतिरिक्त प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई महानिरीक्षकमा बढुवा गरेको हाे । प्रहरीको कार्यसम्पादन मूल्यांकनमा सर्वेन्द्र खनाल पहिलो नम्बरमा थिए ।

आईजीपीका लागि सर्वेन्द्र खनालसँगै रमेश खरेल र पुष्कर कार्की दौडमा थिए । डीआईजी बढुवाको बरियतामा खनाल पहिलो, खरेल दोस्रो र कार्की तेस्रो नम्बरमा थिए ।

प्रहरी महानिरीक्षक प्रकाश अर्याल र सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवाअवधि पूरा गरेर बुधबारदेखि अवकाश पाउँदैछन् । महानिरीक्षक अर्यालसँगै १५ जना एआईजीहरु मंगलबारबाट पाउँदैछन् ।

२०४६ सालमा प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा प्रवेश गरेको सर्वेन्द्र खनालले आफ्नो करिअरमा कुख्यात भारतीय अपराधी बब्लु दुबेको पक्राउदेखि गुण्डानाइके कुमार घैंटेको इन्काउन्टर लगायत अन्य थुप्रै अपराधको सफल अनुसन्धान गरेका थिए । नेपाली फुटबल इतिहासमा ‘म्याच फिक्सिङ’ गरेको आरोपमा नेपाली टिमका कप्तान सागर थापा ,विकास राई, अन्जन क्षेत्री लगायतलाई कानूनी कठघरमा ल्याएका थिए ।

अपराध महाशाखाको जिम्मेवारी सम्हालेको हप्तादिनमै उनले सञ्चार उद्यमी जमिम शाहका हत्यारालाई जगदीश चन्दलाई पक्राउ गरे । २०६० सालमा ललितपुरको एकै परिवारको ५ जनालाई हत्या गरेर फरार भएका चन्द्रबहादुर पहारीलाई उनले नियन्त्रणमा लिएका थिए ।

नाकाबन्दीका बेला इन्धन कालोबजारी गर्नेहरुलाई पक्राउ, गरे । यूनीटी लाइफ इन्टरनेशनलका सञ्चालकहरुलाई विष्णुबहादुर र कृष्णबहादुर क्षेत्रीलाई पक्राउ गर्न सफल भएका थिए । नेपाल प्रहरीको प्रवक्ता हुँदै उनी महानगरीय ट्राफिक प्रहरी प्रमुखमा कार्यरत थिए ।

नेपाल प्रहरीको निरीक्षकबाट सेवा सुरु गरेका शैलेन्द्र खनाल २०५७ सालमा गठन भएको सशस्त्र प्रहरीमा प्रवेश गरेर करिअर सुरु गरेका थिए ।