सातै प्रदेशमा तरुण दलको भेला सुरु

सातै प्रदेशमा तरुण दलको भेला सुरु

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल तरुण दलको एक महिना लामो प्रदेशस्तरीय प्रशिक्षण भेला आइतबार झापाबाट सुरु भएको छ । ‘सम्पूर्ण तरुण प्रशिक्षित, सम्पूर्ण युवा संगठित’ भन्ने अभियानअन्तर्गत सातै प्रदेशमा प्रशिक्षण अभियान सञ्चालने भएको हो ।

तरुण दलको आयोजना र जिल्ला समितिको संयोजनमा हुन गइरहेको प्रदेशस्तरीय प्रशिक्षण भेलामा कांग्रेसका शीर्ष नेताहरू सहभागी भएको अध्यक्ष जितजंग बस्नेतले जानकारी दिए ।

कांग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधनका कारण कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकसमेत स्थगित भएको छ । कांग्रेसले २२ चैतसम्म औपचारिक कार्यक्रम नगर्ने निर्णय नै गरेको थियो । तरुण दलको प्रशिक्षण भेलामार्फत कांग्रेस नेताहरू औपचारिक कार्यक्रममा सहभागी हुने भएका छन् । तरुण दलको भेलाकै कारण कांग्रेसको समीक्षा बैठक वैशाखको पहिलो सातासम्मका लागि स्थगित भएको छ । भेलामा जिल्ला समितिका पदाधिकारी, क्षेत्रीय सभापति, नगर सभापति र केन्द्रीय पार्सद सहभागी हुनेछन् ।

२५–२६ चैतमा प्रदेश नम्बर १ को झापा, चैत २९–३० गते प्रदेश २ को पर्सा र ३–४ वैशाखमा प्रदेश ३ को प्रशिक्षण भेला हेटौंडामा हुने भएको छ । यस्तै, प्रदेश नम्बर ४ को वैशाख ६–७ गते पर्वतमा, प्रदेश ५ को वैशाख ९–१० गते रुपन्देही, वैशाख १२–१३ गते प्रदेश ७ को डडेल्धुरा र वैशाख ३०–३१ गते प्रदेश ६ को सुर्खेतमा प्रशिक्षण भेला हुने भएको छ । तरुण दलले गत फागुन अन्तिम साता भक्तपुरको नगरकोटमा केन्द्रीय प्रशिक्षण भेला सम्पन्न गरेको थियो । उक्त भेलाले नै संगठन सुदृढीकरणका लागि प्रदेशस्तरीय भेला गर्ने निर्णय गरेको थियो ।