क्यालिफोर्नियामा गोली चल्यो, ६ जनाको मृत्यु

क्यालिफोर्नियामा गोली चल्यो, ६ जनाको मृत्यु

न्युयोर्क, २१ चैत।क्यालिफोर्नियाको सेक्रामेन्टो सहरमा गोली चल्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । आइतबार बिहान रेस्टुरेन्ट र बारहरूले भरिएको क्षेत्रमा बन्दुकको आवाज आएपछि मानिसहरू सडकबाट भागेका थिए । आक्रमणकारीमाथि प्रहरीले जबाफी गोली प्रहार गरेको थियो ।

आक्रमणपछि शंकास्पद व्यक्तिको खोजी भइरहेको जनाइएको छ । ‘यो वास्तवमै दुःखद अवस्था हो’, प्रहरी प्रमुख क्याथरिन लेस्टरले भने । आक्रमणकारी पत्ता लगाउन प्रहरीले सर्वसाधारणसँग सहयोग मागेको छ ।केही कुख्यात गोलीकाण्ड बन्दुक राख्न पाउने कानुनका कारण अमेरिकामा भयानक गोलीकाण्डहरू दोहोरिने गरेको छ । प्रायः अमेरिकीले बन्दुक लिनु एउटा संस्कृतिजस्तै बनेको छ । सोही कारण बन्दुकसँग सम्बन्धित हमला भइरहेका छन् । हत्याहिंसाको अन्त्यका लागि बन्दुक संस्कृतिको अन्त्य हुनुपर्ने विज्ञहरू बताउँदै आएका छन् ।

सन् २००७ मा भर्जिनियाको एक विद्यालयमा भएको गोलीकाण्डमा आक्रमणकारीसहित ३३ जनाको मृत्यु भएको थियो । सो आक्रमणमा २३ जना घाइते भएका थिए ।त्यसैगरी, सन् २०१२ मा पनि अमेरिकाको स्यान्डी हकमा एकजना बन्दुकधारीले विद्यालयमा गरेको हमलामा २८ जनाको ज्यान गएको थियो । सो घटनामा मारिनेमा अधिकांश बालबालिका थिए ।

त्यसैगरी, सन् २०१७ को अक्टोबरमा लास भेगासमा भएको बन्दुक हमलामा ६० जनाको ज्यान गएको थियो । सो गोलीकाण्डमा करिब ५ सयजना घाइते भएका थिए । सो आक्रमणलाई अमेरिकी इतिहासकै सबैभन्दा क्रूर र दर्दनाक मानिएको छ ।