विद्यालय भर्नामा डेढ दशकदेखि तामझाम, उपलब्धि शून्य

विद्यालय भर्नामा डेढ दशकदेखि तामझाम, उपलब्धि शून्य

काठमाडौं, २६ चैत । आकर्षक देखाउन विद्यालयहरुमा सिँगारपटार भइरहेको छ । सांस्कृतिकलगायत कार्यक्रमको तयारी पनि भइरहेको छ । विद्यालय पुगेका बालबालिकालाई अबिर–माला लगाएर स्वागत गरिँदैछ । बाजागाजासहित घरघर पुगेर पहुँच बाहिर रहेका बालबालिकालाई विद्यालय पुर्याउने कार्यक्रम पनि बर्सेनिजसो भइरहेको छ । सरकारले डेढ दशकदेखि यस्तै–यस्तै तामझाम साथ सामुदायिक विद्यालय भर्ना अभियान सञ्चालन गर्दै आएको छ । यो खबर आजको नागरिक दैनिकबाट लिएका हौं ।

यसपटक पनि विगतका वर्षमा जस्तै नयाँ शैक्षिक सत्रअन्तर्गत वैशाख पहिलो र दोस्रो साता विद्यालयकेन्द्रित त्यसपछिका दुई साता समुदाय केन्द्रित कार्यक्रम गरिँदैछ । यसपटक त राज्यले भर्ना अभियानमा जनप्रतिनिधिलाई समेत संलग्न गराउँदैछ । नयाँ शैक्षिक सत्र शुरुभएसँगै विद्यालय भर्ना अभियानका नाममा राज्यले विभिन्न तामझाम गर्न थालेको १४ वर्ष बितिसक्यो । तर उपलब्धि भने लगभग शून्यकै हाराहारीमा छ ।

यही विषय उठाएकाे कान्तिपुरले ३ लाख बालबालिका स्कुलबाहिर रहेको तथ्यांक प्रस्तुत गरेको छ । समाचार अनुसार ५ देखि १२ वर्ष उमेर समूहका ३ लाख १३ हजार बालबालिका विद्यालयबाहिर छन् । उनीहरु किन विद्यालय आउँदैनन् भन्ने गहन अध्ययनबिनै गरिने भर्ना अभियानले यसपालि पनि उच्च नतिजा दिने विश्वास गर्न सकिँदैन ।