सर्वोच्च अदालतका लागि न्यायाधीश श्रेष्ठको नाम सर्वसम्मतिबाट अनुमोदन

सर्वोच्च अदालतका लागि न्यायाधीश श्रेष्ठको नाम सर्वसम्मतिबाट अनुमोदन

काठमाडौँ, १५ चैत।सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।

आजको बैठकमा उहासँग अनुभव, सोच, भावी योजना र अवधारणासम्बन्धी जानकारी लिएपछि समितिले सर्वसम्मतिले नाम अनुमोदन गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । नेपालको न्याय क्षेत्रमा देखिएको ढिलासुस्ती अन्त्य गर्दै सेवाग्राहीलाई अदालतप्रति सम्मान बढाउन उहाँले विभिन्न समय र स्थानमा रही चाल्नुभएका कदमको समिति सदस्यले सो अवसरमा प्रशंसासमेत गर्नुभयो ।

न्यायाधीश श्रेष्ठले पोखरा, राजविराज र विराटनगर उच्च अदालतमा रहँदा दुई वर्ष नाघेका मुद्दा शून्यमा झार्नुभएको तथा सबैभन्दा बढी मुद्दा छिनोफानो गर्ने न्यायाधीशका सूचीमा पर्दैै आउनुभएको छ ।न्याय परिषद्ले उहाँको नाम सर्वोच्च अदालतका लागि मनोनयन गरी संसदीय सुनुवाइका लागि गत फागुन २७ गते समितिमा पठाएको थियो ।

उहाँले अदालतमा मुद्दा छिनोफानोका क्रममा विद्युतीय प्रणाली अवलम्बन, पेसी र फैसला तयारीबारे सेवाग्राहीलाई जानकारी, स्थानीय तहका पदाधिकारीसँग मुद्दा छिनोफानोका सम्बन्धमा अन्तक्र्रिया र प्रशिक्षण, अदालतमा निःशुल्क कानुनी फाँट, न्यायिक सञ्जाल, ‘मिट दि जज’ तथा फैसलामा हार्ने पक्षलाई चित्त बुझाउने फैसला लेखनजस्ता महत्वपूर्ण कार्यको सुरुआत गर्नुभएको छ ।रासस