काठमाडौँ । भारतको तीन दिने राजकीय भ्रमण सकाएर प्रधानमन्त्री केपी ओलीसहितको प्रतिनिधि मण्डल आइतबार राति स्वदेश फर्किएको छ। प्रधानमन्त्रीलाई कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलसहित मन्त्रीहरु, सभामुख कृष्णबहादुर महरालगायतले विमानस्थलमा स्वागत गरेका थिए।
ओलीले आफ्नो भारत भ्रमण बनावटी, देखावटी नभई यर्थाथमा आधारित भएको बताएका छन् । तीन दिने राजकीय भ्रमणबाट आइतबार साँझ स्वदेश फर्केका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै नेपालको नयाँ जनमतलाई भारतले अब स्वागत गरेको उल्लेख गरे ।
‘नेपाल भारत सम्बन्ध, अब तस्बिर आफैं बोल्छ,’ प्रधानमन्त्री ओलीले सम्बन्धमा आएको सुधारबारे भने ,‘हामी सम्बन्ध बिगार्दैनौं र बिग्रिदैन, पारस्परिक लाभमा आधारित मित्रतापूर्ण सम्बन्ध अघि बढ्छ।’
नोटबन्दीका कारण नचल्ने भएका नेपालमा रहेका भारतीय नोटबारे भ्रमणका क्रममा कुरा उठाउने भनी संसदमा बताएका प्रधानमन्त्रीले यस विषयमा कुरा नउठाएको बारे पत्रकारले प्रश्न सोध्दा उनले कुनै जवाफ दिएनन्।