काठमाडौं / प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा भएको सम्झौता देशको हितमा भए स्वागतयोग्य हुने बताएको छ । कांग्रेसले नेपालले छिमेकी मुलुकसँगको सम्बन्ध सन्तुलित राख्नुपर्ने भन्दै छिमेकी मुलुकमा भएको समृद्धि भित्राउन उत्तेजनाभन्दा पनि सन्तुलिन अभिव्यक्ति आवश्यक पर्ने बताएको हो । महेश्वर गौतमले लेख्नुभएको यो खबर आजको राजधानी दैनिकबाट लिएका हौं ।
कांग्रेस नेता मीन विश्वकर्माले सरकारले विभिन्न किसिमका महत्वकांक्षी नारा अघि सारेर उत्तेजित हुने काम गरेको भन्दै देशको हितमा हुने सम्झौताहरूको कांग्रेसले सधैं स्वागत गर्ने बताएका हुन् ।
‘देशको हितमा हुने सन्धि–सम्झौताको कांग्रेस सधैं स्वागत गर्छ, तर सरकार हित हुनेभन्दा पनि उत्तेजनामा आउनेगरी काम गरिरहेको छ, छिमेकी मुलुकहरूसँगको सम्बन्ध सन्तुलित रूपमा अघि बढाएर समृद्धिलाई भित्राउनेतर्फ केन्द्रित हुनुपर्छ,’ नेता विश्वकर्माले राजधानीसँग भने ।
उनले भारत भ्रमणमा रहेका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको ‘वान टु वान’ वार्तामा के भयो भन्ने कुरा महत्वपूर्ण भएको र विस्तारै खुल्दै जाने बताए । नेता विश्वकर्माले प्रधानमन्त्री ओलीको भारत भ्रमण पाकिस्तानी प्रधानमन्त्री नेपाल आउँदाको विषयमा स्पष्टीकरण दिन केन्द्रित भएको समेत दाबी गरे ।
अर्का नेता तथा पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले भारत भ्रमणका क्रममा भएका सन्धि र सम्झौतामा कुनै खास नयाँ कुरा नभएको बताए । ‘जे कुरा आएको छ, ती पहिलेकै कुरा हुन्, कार्यान्वयनतर्फ भन्दा पनि हल्ला गर्नेतर्फ बढी भ्रमण केन्द्रित भएको छ,’ महतले भने ।
उनले भारतको नेपालसँगको रेलसम्बन्ध स्थापित गर्ने विषय पुरानै सरकारसँगको सहमतिको निरन्तरता भएको समेत बताए । ‘पहिले पूर्व–पश्चिम रेलको कुरा भएको थियो, अहिले वीरगन्ज काठमाडौंको कुरा आएको छ, यो नयाँ विषय होइन, स्थान मात्र नयाँ हो, लुम्बिनीको सट्टा वीरगन्जलाई प्वाइन्ट बनाइएको हुन सक्छ,’ महतले भने ।
यस्तै, नेपाललाई सागरसँग जोड्ने भन्ने विषयमा पनि नयाँ कुरा केही नभएको महतले बताएका छन् । नेपालसँगको पारवहन सम्झौता रहिनैरहेको भन्दै भएको विषयलाई सहजीकरण गर्नु भने जायज भएको बताए ।
मधेसवादी दलहरूले भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा भएका सम्झौताहरू देशको हितमा भए सकारात्मक हुने बताएको छ ।
प्रधानमन्त्रीको भ्रमणलाई नजिकबाट नियालिरहेको संघीय समाजवादी फोरम नेपालले प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा हुने कुनै पनि सन्धि–सम्झौता नेपाल र नेपाली जनताको हित एवं पक्षमा हुनुपर्ने जनाएको हो ।
फोरम नेपालका महासचिव रामसहाय यादवले दुई देशका बीचमा हुने कुनै पनि सन्धि–सम्झौता नेपाल र नेपाली जनताको पक्षमा भएमा स्वागत गर्ने बताए । प्रधानमन्त्री ओली अहिले भ्रमणको क्रममा नयाँ दिल्लीमा रहेकाले भ्रमणपश्चात् विस्तृत अध्ययन गर्दै फोरमले आधिकारिक धारणा सार्वजनिक गर्ने उनको भनाइ छ ।
राष्ट्रिय जनता पार्टी नेपालले भने दुई प्रधानमन्त्रीका बीचमा भएको संयुक्त पत्रकार सम्मेलन एवं संयुक्त विज्ञप्तिमा संविधान संशोधनको विषय नआउनुलाई दुःखद भएकोबताएको छ । उसले संविधान संशोधनको विषयमा संयुक्त वक्तव्यमा चर्चा नहुनुले आफूहरू दुखित भएको जनाएको छ ।
राजपा नेपालका उपाध्यक्ष सत्यनारायण मण्डलले विगतको मधेस आन्दोलनका क्रममा १२६ जनाको ज्यान गएको, हजारौं घाइते एवं अंगभंग हुँदासमेत संविधान संशोधनको विषयमा चर्चा नहुनुले आफूहरू दुखित भएको बताएका हुन् ।
‘जसलाई हामीले छिमेकी ठान्छौं र मित्र मान्छौं उनीहरूका साथै जसलाई हामीले समर्थन गरेका छौं, त्यसले समेत संशोधनको विषयमा चर्चा नगर्नुले राजपाले आफ्नो अपमान ठानेको छ,’ मण्डलले भने ।